आइतबार दिनभर राजमार्गमा कडा जाँच र ८० जना प्रहरी परिचालनपछि सराङकोटको बालसुधार गृहबाट भागेका बालबन्दी लेकसाइडमा हम्मरसहित पक्राउ परेका छन् ।
यसअघि पनि फरार भएर समातिएका बालबन्दीलाई फेरि चोरी गर्ने तयारी गर्दैगर्दा १८ घन्टापछि कास्की प्रहरीले उनलाई पक्राउ गरेको छ ।
पोखरा–१८ सराङकोटस्थित सुधार गृहबाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ परेका हुन् ।
पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति १ बजे पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
सराङकोटस्थित बालसुधार गृहबाट सुरक्षाकर्मीकै आँखा अगाडि पर्खाल नाघेर भागेका १८ वर्षीय थापा थरका बालबन्दीको खोजी गर्ने क्रममा राजमार्गहरूमा बेरिकेड राखेर चेकजाँच गरिएको थियो भने कुकुरसहित करिब ८० प्रहरी परिचालन गरिएको थियो ।
‘
यसअघि पनि उनी उपचारका लागि अस्पताल लैजाने क्रममा फरार भएका थिए । बिरामी परेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका बेला भाग्न सफल उनी इटहरीबाट पक्राउ परेका थिए ।
बालगृह सुरक्षाको मामलामा पटकपटक चुक्दै आएको छ । जिल्ला प्रहरी कार्यालयले त्यहाँको सुरक्षा व्यवस्थापन गर्दै आएपनि पर्याप्त सुरक्षा र बालबन्दी नियमकै कारण त्यहाँबाट भाग्ने क्रम दोहोरिहेको हो ।
उमेर हदकाकारण बालबन्दीलाई सुधार गृहमा राखिए पनि उनीहरु वयस्क हुँदा समेत कारागार चलान गर्ने कानूनी व्यवस्था छैन । युवावस्थामा पुग्दा बालबन्दीबीच बाराम्बार झडप भएको र सुधार गृहमा आगजनीसमेत भइसकेको छ ।







