चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा रास्वपाका २० सांसद – नेता भ्रमणमा

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् ।

नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउँदै आवश्यक निर्देशन लिन रास्वपाका संसदीय दलका सदस्य तथा पार्टीका नेताहरूले शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री साहले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताए ।

उनका अनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिएका छन् ।

चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायतका क्षेत्रमा महत्त्वपूर्ण लाभ लिन सक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरेको बुर्लाकोटीले जानकारी दिए ।

चीनबाट लिन सकिने सम्भावित आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको उनले बताए ।

बुर्लाकोटीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण तालिकामा पनि यस्ता विषय समेटिएका छन् ।

भ्रमणलाई औपचारिक भेटघाट र पर्यटकीय गतिविधिमा मात्र सीमित नगरी दुई देशको पारस्परिक हित तथा विशेष गरी नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउने अवसरका रूपमा उपयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । रास्वपाको उक्त टोली नोभेम्बर १५ देखि २६ सम्म चीनमा रहनेछ ।

भ्रमण अवधिमा दुई देशबीचको सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण, कृषि आधुनिकीकरण र पर्यटनलगायतका विषयमा छलफल तथा अध्ययन हुने अपेक्षा गरिएको छ ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीसहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द साह र रमेश सापकोटा रहेका छन् ।

Scroll to Top