पर्यटकीय क्षेत्र लेकसाइडमा अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत ३१ जना पक्राउ परेका छन् । प्रहरीले ५८ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय बैदामले संयुक्त रूपमा कात्तिक १९ गतेदेखि लेकसाइड क्षेत्रमा ‘अपरेसन सभ्यता’ सञ्चालन गर्दै आएका छन् ।
पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, दुर्व्यवहार गर्ने, झैझगडा गर्ने तथा अनैतिक र अवाञ्छित गतिविधि गर्ने व्यक्ति तथा समूहलाई निगरानी गरी नियन्त्रणमा लिने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कात्तिक २१ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा गरिएको कारबाहीमा २९ पुरुष र दुई महिलासहित ३१ जना नियन्त्रणमा परेका हुन् ।
पक्राउ पर्नेमा पर्यटकलाई दुःख हैरानी दिने तीन जना, मोबाइल चोरीमा संलग्न रहेको आरोपमा दुई जना, जुवातास खेल्ने एक जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्दै सवारीसाधन चलाउने २५ जना र अनैतिक गतिविधिमा संलग्न एक जना रहेका छन् ।
यसैगरी, प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा ५८ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । तीमध्ये ३८ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवनसम्बन्धी कसुरमा कारबाही गरिएको छ भने एउटा सवारीसाधनलाई अन्य ट्राफिक जरिवाना गरिएको छ ।
बाँकी १९ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदाममा राखेर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले पर्यटकीय क्षेत्रको शान्ति सुरक्षा कायम राख्न, पर्यटकलाई सुरक्षित वातावरण उपलब्ध गराउन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिने जनाएको छ ।







