शिक्षामन्त्रीसँग ६ बुँदे सहमतिपछि गोविन्द केसीले तोडे अनशन

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीले सरकारसँग ६ बुँदे सहमति भएपछि अनशन तोडेका छन् ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र डा. केसीबीच शनिबार सहमति जुटेसँगै उनले सत्याग्रह अन्त्य गरेका हुन् ।

पटकपटकको छलफलपछि मन्त्री पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर डा। केसीसँग सहमति गरेका थिए । सहमतिमा डा। केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा। डा। जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा। बद्री रिजालले हस्ताक्षर गरेका छन् ।

अनशन तोडिएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने दाबी गरे ।

सहमतिअनुसार कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम सञ्चालन र सिट निर्धारणसम्बन्धी विषयमा छानबिन गरिनेछ । नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णय पनि मापदण्डअनुसार भए–नभएको जाँच गरिनेछ ।

त्यस्तै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ संशोधन गरी दुई हप्ताभित्र अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइने भएको छ । यसअघिका सहमति कार्यान्वयन गर्ने र नयाँ सहमतिको अनुगमनका लागि संयुक्त कार्यदल गठन गर्ने पनि सहमतिमा उल्लेख छ ।

सरकारले डडेलधुरा, इलाम र उदयपुरमा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन तथा पूर्वाधार विकासको काम अघि बढाउने भएको छ । बर्दिबासमा मेडिकल कलेज स्थापना तथा सञ्चालनको प्रक्रिया पनि तत्काल अघि बढाउने सहमति भएको छ ।

Scroll to Top