‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौँ गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री पुष्प मेला – २०८३’ पोखरामा सुरु भएको छ।
फ्लोरिकल्चर एसोसिएसन गण्डकीको आयोजनामा सुरु भएको मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन्।
मेलाको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले पोखरालाई पुष्पजन्य उत्पादनमा आत्मनिर्भर बनाउने गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए।
उनले पुष्प व्यवसायलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवर्द्धनमा लाग्न कृषक र व्यवसायीलाई सुझाव दिए। पोखरामा पुष्पजन्य उत्पादनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै उनले स्थानीय उत्पादन वृद्धि गरी फूलमा आत्मनिर्भर बन्नुपर्ने बताए।
नगर प्रमुख आचार्यका अनुसार पोखरा महानगरपालिका क्षेत्रमा करिब २०० रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आयात प्रतिस्थापन र कृषकको आम्दानी वृद्धि गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने उनले बताए।
कार्यक्रममा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पुष्प कृषकलाई प्रोत्साहन गर्दै व्यवसायीका लागि सुरक्षित र व्यवस्थित बजार सुनिश्चित गर्न महानगरपालिका प्रतिबद्ध रहेको बताए।
पोखरामा वार्षिक रूपमा करिब दुईदेखि तीन करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान रहेको उल्लेख गर्दै उनले पुष्प व्यवसायले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र कृषि उद्यमशीलतामा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए। पुष्प उत्पादनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन कृषक तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
मेलामा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका पुष्पजन्य उत्पादन तथा सजावटी फूलहरूको प्रदर्शनी र बिक्रीवितरण गरिने आयोजकले जनाएको छ।
पुष्प व्यवसायमा संलग्न कृषक तथा व्यवसायीलाई एउटै थलोमा आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन र पोखराको पुष्प व्यवसाय विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।







