पोखरा महानगरपालिका–२४ बास्कोटमा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको उद्घाटन महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका छन्।
केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले स्वास्थ्य सेवाको पहुँच विस्तार तथा नागरिकको स्वास्थ्य प्रवर्द्धन र सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए।
नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु महानगरपालिकाको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण र सेवा विस्तारलाई प्राथमिकता दिएको बताए।
उनले वडा नं. २४ को समग्र विकास निर्माणलाई प्राथमिकतामा राख्दै पञ्चासे क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा समेत महानगरपालिका कटिबद्ध रहेको बताए। स्थानीय पूर्वाधारको विकास, स्वास्थ्य सेवा विस्तार र पर्यटकीय क्षेत्रको प्रवर्द्धनले वडाको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले शहरी स्वास्थ्य केन्द्रबाट स्थानीय नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरे। स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन आवश्यक जनशक्ति, व्यवस्थापन र सेवा प्रवाहमा ध्यान दिनुपर्ने उनले बताए।
पोखरा–२४ का वडा अध्यक्ष भरतबहादुर अधिकारीले स्वास्थ्य केन्द्र निर्माणले वडाका नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताए। स्थानीय आवश्यकता र नागरिकको मागअनुसार केन्द्र निर्माण गरिएको उल्लेख गर्दै उनले वडाको समग्र विकासका लागि महानगरपालिकासँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै वडा नं. २४ का स्थानीयले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ। यसले स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै नागरिकको जीवनस्तर सुधारमा समेत योगदान पुग्ने विश्वास गरिएको छ।







