काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्य भोजपुर जिल्लाको टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका–१७ ढल्कु बस्ने ३२ वर्षीय सोनु कुमार सिन्हालाई पक्राउ गरेको हो।
कार्यालयका अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)–२०२६ का खेलमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा सिन्हालाई नियन्त्रणमा लिई उनीसँग रहेका दुई थान मोबाइल फोन जाँच गर्दा विभिन्न अनलाइन बेटिङ साइटमा लगइन गरी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले allpanelexch9.game, apwin247.com, bazimaaro.online र tnbook247.com लगायतका साइटमार्फत नेपाली रुपैयाँ ८ लाख ८८ हजार ७९२ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका सिन्हालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको कार्यालयले जनाएको छ।







