नवलपुर — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा घरबाट नगद ८० हजार रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
कावासोती नगरपालिका–३ अठाइसविगाहा बस्ने ६२ वर्षीय मानबहादुर तामाङको घरको सटर कोठामा रहेको टेबलको दराजमा राखिएको ज्याकेटको खल्तीबाट गत कात्तिक १३ गते ८० हजार रुपैयाँ चोरी भएको थियो।
चोरीसम्बन्धी सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा कावासोती नगरपालिका–३ बस्ने २२ वर्षीय अर्जुन पुनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पुनलाई कावासोतीस्थित काशाराममा खाल्डो खनी लुकाइराखेको अवस्थामा चोरी भएको रकमसहित फेला पारिएको थियो।
पक्राउ परेका पुनलाई चोरीसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत नवलपुरबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।







