आठ हजार मिटर अग्ला थप ६ हिमाललाई पहिचान दिने प्रयासमा पर्यटनमन्त्री ‘गनेस’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको बताएका छन् ।

नेपाल पर्वतारोहण संघ ९एनएमए० मार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए)को सन् २०२६ को साधारणसभामा मन्त्री पौडेलले उक्त प्रस्ताव अघि सारेका हुन् ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको यूआईएएको साधारण सभा शनिबार समापन हुनेछ । मन्त्री पौडेलका अनुसार नेपालले यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिमलाई छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिन प्रस्ताव गरिएको छ ।

प्रस्तावित हिमालमध्ये यालुङ काङ ८ हजार ५०५ मिटर, कञ्चनजङ्घा दक्षिण ८ हजार ४७६ मिटर, कञ्चनजङ्घा मध्य ८ हजार ४७३ मिटर, ल्होत्से मध्य ८ हजार ४१० मिटर, ल्होत्से शार ८ हजार ४०० मिटर र यालुङ काङ पश्चिम ८ हजार ७७ मिटर अग्ला छन् ।

नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाएमा विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ । त्यस्तै, नेपालमा मात्र ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या आठबाट बढेर १४ पुग्नेछ । यससँगै विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनेछ ।

नेपाल पर्वतारोहण संघको आतिथ्यमा भइरहेको सम्मेलनमा विश्वका विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन् । नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएएको साधारण सभा आयोजना गरेको थियो।

प्रस्तावित हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहलले नेपालको पर्वतीय पहिचानलाई थप विस्तार गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान र पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्ने मन्त्री पौडेलले बताएका छन् ।

मन्त्री पौडेलले भने, ‘नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।’

हिमालको अन्तर्राष्ट्रिय पहिचान र वर्गीकरणसँगै जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण तथा पर्वतीय समुदायको जीविकोपार्जनका विषयलाई पनि अन्तर्राष्ट्रिय बहसमा जोड्ने अवसरका रूपमा यो सम्मेलनलाई हेरिएको छ ।

Scroll to Top