पोखराको बालोदय चोकमा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ।

कास्कीको पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा–बुटवल सडकखण्डमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

त्यसपछि मोटरसाइकल अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल घाइते भएका थिए।

दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Scroll to Top