पोखरा । नेपाली कांग्रेसको जारी मतपरिणामअनुसार महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा कास्कीबाट लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन्।
सदस्यमा पाण्डेले जित्दा अर्की उम्मेदवार नम्रता बराल पराजित भइन्।
पाण्डेसहित गण्डकी प्रदेशका चार जना नेतृ विजयी भएका छन् ।
१५ जनाको कोटा रहेको उक्त क्लस्टरमा गण्डकी प्रदेशबाट गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी स्याङ्जाकी कल्पना तिवारी, तनहुँकी चिनु पोखरेल, कास्कीकी लक्ष्मी पाण्डे र पर्वतकी मुना भुसाल निर्वाचित भएका हुन् ।
सोही पदमा प्रतिस्पर्धा गरेकी बराल र बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा पराजित बनेकी छन् ।
१५ जना केन्द्रीय सदस्यका लागि भएको उक्त निर्वाचनमा ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका क्रममा पदाधिकारीसँगै विभिन्न समावेशी समूह र खुलातर्फको मत गणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
सार्वजनिक मतपरिणामअनुसार महिला खुलातर्फ वासना थापाले सर्वाधिक ५ हजार १९३ मत प्राप्त गरी पहिलो स्थान हासिल गरिन् । यस्तै ३ हजार ९७० मतसहित उर्मिला थपलिया दोस्रो र ३ हजार ९०६ मत ल्याएर निमा गिरी तेस्रो स्थानमा विजयी भएकी छन् ।







