काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका–१० कपनमा रहेको विद्यालय प्राङ्गणमा असोज २२ गते बिहान १०स्३४ बजेको समयमा कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा व्यापक भएपछि प्रहरी वृत्त बौद्धको टोली खटिएको थियो।
प्रहरी जाँचका क्रममा सुनसरीको बराहक्षेत्र–७ घर भई हाल कपन बस्ने ३६ वर्षीय निशाल दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई अश्लील शब्द प्रयोग गरी गालीगलौच तथा धम्की दिएको पाइएको छ। साथै, सिन्धुलीको दुधौली–१ घर भई कपन नै बस्ने ४४ वर्षीय ध्रुव प्रसाद घिमिरेको निर्देशनमा प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरेको प्रहरीले जनाएको छ।
अभद्र व्यवहार गर्ने दुवै जनालाई नियन्त्रणमा लिई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक तथा प्रवक्ता दान बहादुर थापाले जानकारी दिएका छन्।







