नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
गुरुङले पार्टीभित्र एकता, सुदृढ संगठन, विचारमा स्पष्टता र जनतासँग निरन्तर संवादलाई प्राथमिकतामा राख्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएका छन्। कांग्रेसलाई अझ सशक्त, समावेशी र जनमुखी बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ।
माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षका रूपमा स्थानीय शासन, सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, सुशासन र पारदर्शिताका क्षेत्रमा हासिल गरेको अनुभवलाई अब पार्टी संगठनको सुदृढीकरणमा उपयोग गर्ने गुरुङले बताएका छन्।
माछापुच्छ्रे क्षेत्रका खुमै डाँडा, मर्दी हिमाल र क्यानोनिङलगायत पर्यटकीय तथा साहसिक गन्तव्यको प्रवर्द्धन, संरक्षण र विकास गर्दै गाउँपालिकालाई साहसिक पर्यटन हबका रूपमा अघि बढाउने अभियानमा आफूले व्यावहारिक अनुभव हासिल गरेको उनको भनाइ छ। यसले स्थानीय आर्थिक समृद्धि, रोजगारी सिर्जना र दिगो विकासका सम्भावनालाई थप मजबुत बनाएको उनले उल्लेख गरेका छन्।
गुरुङले नेपाली कांग्रेसलाई आगामी दिनमा अझ सुदृढ, लोकतान्त्रिक, जनमैत्री र जनताकेन्द्रित बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा, नीतिगत स्पष्टता र सबै पुस्ताबीच संवाद तथा सहकार्यको संस्कार निर्माणमा जोड दिने उनको भनाइ छ।
उनले महाधिवेशन प्रतिनिधि, पार्टीका अग्रज, सहकर्मी, युवा तथा शुभेच्छुकहरूसँग आफ्नो उम्मेदवारीका पक्षमा साथ, सहयोग र समर्थनको अपेक्षा समेत गरेका छन्।
गुरुङ कास्की क्षेत्र नं. ३ अन्तर्गत माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष हुन्।







