१० वर्षअघि हराएका शिव फेला परे, अभिभावकको जिम्मा लगाइयो

राजविराज । सप्तरीमा १० वर्षअघि हराएका एक बालकलाई प्रहरीले भारतको नयाँदिल्लीबाट खोजी गरी अभिभावकको जिम्मा लगाएको छ।

सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा १० वर्षअघि आफ्नै घरबाट हराएर सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्ने क्रममा उनी भारतको नयाँदिल्लीमा रहेको जानकारी प्राप्त भएपछि प्रहरीले त्यहाँस्थित किड इन्डिया संस्थासँग आवश्यक समन्वय गरेको थियो।

संस्थाले खोजतलास गर्ने क्रममा शिवकुमारलाई नयाँदिल्लीमा फेला पारेको थियो। संस्थाका निर्देशक नवीन जोशीले जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेसँग समन्वय गरी शिवकुमारलाई नेपाल ल्याएर प्रहरी कार्यालयमा बुझाएका थिए।

शिवकुमारलाई असोज १८ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको प्रहरीले जनाएको छ। त्यसपछि सोही दिन अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ का जनप्रतिनिधिको रोहवरमा साँझ करिब ८ बजे उनलाई उनका अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीले लामो समयदेखि हराएका बालबालिकाको खोजी तथा पुनर्मिलनका लागि सम्बन्धित निकाय र संस्थासँग समन्वय गर्दै आएको जनाएको छ।

Scroll to Top