हिम्लुङको पहिरोमा १५ शव भेटिए, नुरीको खोजी जारी

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ क्षेत्रमा हिमपहिरोमा परी १५ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।

प्रहरीका अनुसार २०८३ असोज २ गते काठमाडौंमा रहेको हिमालय होलिडे कम्पनीका २१ जना तथा इमेजिङ नेपाल कम्पनीका ६ जना गरी २७ जना नेपाली पुरुष हिम्लुङ क्षेत्रमा बेस क्याम्प स्थापना गर्न गएका थिए।

उनीहरू असोज ११ गते राति करिब १२ः४५ बजे आएको हिमपहिरोमा परेका थिए। हिमपहिरोमा परेका २७ जनामध्ये ११ जना सकुशल रहेको र १६ जना सम्पर्कविहीन भएका थिए।

खोज तथा उद्धारका क्रममा हालसम्म १५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। अझै सम्पर्कविहीन रहेका ओखलढुंगा घर भएका ३८ वर्षीय पासाङ नुरी शेर्पाको खोजी कार्य जारी रहेको छ।

फेला परेका मृतकहरूको विवरणअनुसार संखुवासभाका छेवि भोटे (५२) र पासाङ भोटे (३१), गोरखाका विरेन्द्र गुरुङ (३०) र आश गुरुङ (५८), खोटाङका घनश्याम राई (४५), लक कुमार गुरुङ (४०) र सुरज राई (२१), रुकुम पूर्वका कलम बुढा (५७), काभ्रेपलाञ्चोकका बिर्ख ध्वज तामाङ (३५) र जगत तामाङ (३४), सिन्धुपाल्चोकका उर्ख ध्वज बोहोरा (५७), ओखलढुंगाका प्रेम तामाङ (६३), दोलखाका कृति बहादुर तामाङ (४७) तथा वतन र उमेर नखुलेका ङिमा दोर्जे तामाङ र सन्तवीर तामाङको शव फेला परेको हो।

बेपत्ता पासाङ नुरी शेर्पाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Scroll to Top