एकाबिहानै दु:खद खबर ! काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

बिनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो।

बसमा चालकसहित १८ जना सवार रहेकोमा दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका र दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्र पहिचान खुलेको छ। अन्य पाँच जना मृतकको पहिचान खुल्न बाँकी रहेको छ।

दुर्घटनामा घाइते हुनेहरूमा गोरखा गो.न.पा.–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुरा स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दिया राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुरा स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँके नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी रहेका छन्।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमन सिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले बसमा सवार घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाएको जनाएको छ। हाल उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

* यसअघि १० को मृत्यु लेखिएकोमा सच्याइएको छ।

Scroll to Top