भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ ‘कन्दरा’को ४८ लाख सहयोग

सांगीतिक ब्याड कन्दराले अमेरिका टुरका क्रममा सामाजिक सहयोगका लागि जुटाएको ४८ लाख ३ हजार ५१० रुपैयाँ भोटेकोशी बाढी प्रभावितको सहयोगमा जम्मा गरिदिएको छ ।

क्यानाडा र अमेरिकामा गरिएको ‘रिदम अफ चेन्ज’ टुरका क्रममा संकलित रकममध्ये ६ हजार अमेरिकी डलर छन्त्याल परिवारले आफ्नै तर्फबाट राहत वितरण गरेका छन् भने बाँकी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको ब्यान्डले जनाएको छ ।

गायक विवेक श्रेष्ठका अनुसार टुरका क्रममा तीन चरणमा रकम जुटाइएको हो । अमेरिकाको एटलान्टामा भएको कार्यक्रममा करिब २१ लाख रुपैयाँ संकलन भएको थियो ।

त्यसपछि मेरिल्याण्डमा छन्त्याल परिवारका सदस्यको पहलमा ६ हजार अमेरिकी डलर र नर्थ क्यारोलाइनाको कार्यक्रममा ११ हजार ६७० अमेरिकी डलर संकलन गरिएको उनले बताए ।

श्रेष्ठले तीनवटै किस्तालाई नेपाली रुपैयाँमा करिब १५३ रुपैयाँ प्रतिअमेरिकी डलरको हिसाब गर्दा कुल ४८ लाख ३ हजार ५१० रुपैयाँ संकलन भएको बताए ।

उक्त रकम अमेरिकास्थित नेपालीका गैरनाफामूलक संस्थाहरुबाट नेपालको प्रधानमन्त्री राहत कोषमा पठाइएको उनले बताएका छन् ।

Scroll to Top