सांगीतिक ब्यान्ड कन्दराले कन्सर्टमार्फत संकलन गरिएको २१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ । भोटेकोशी बाढी प्रभावित नेपालीको राहत, उद्धार र पुनर्स्थापनाका लागि उक्त रकम प्रदान गरिएको हो ।
कन्दराले आफ्नो सामाजिक सञ्जालमार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिएको छ । अमेरिकाको एटलान्टास्थित नेपलिज एसोसिएसन अफ जर्जियाको बैंक खाताबाट उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको ब्यान्डले जनाएको छ ।
कन्दराको आह्वान र अग्रसरतामा बिएनएमको आयोजनामा उक्त कन्सर्ट सञ्चालन भएको थियो । कार्यक्रममा एटलान्टामा रहेका नेपाली दर्शक, संघ(संस्था, व्यवसायी, कलाकार, शुभेच्छुक तथा समुदायको सहभागिता रहेको थियो ।
गत १० भदौ ९२६ अगस्ट० मा नेपालमा आएको विनाशकारी विपद्पछि कन्सर्ट स्थगित गर्ने दबाब र भावनात्मक चुनौती सिर्जना भएको थियो । तर ब्यान्डले कार्यक्रम रोक्नुको सट्टा सेवामा रूपान्तरण गर्ने निर्णय लिएको थियो ।
‘यो केवल एउटा सांगीतिक कार्यक्रम थिएन, हजारौँ माइल टाढा रहेर पनि मातृभूमिको पीडासँग जोडिएको नेपाली मनहरूको सामूहिक अभिव्यक्ति थियो,’ कन्दराका गायक तथा संस्थापक विवेक श्रेष्ठले भने ।
देश दुखिरहेको बेला गीत गाउन सजिलो नभए पनि संगीतलाई पीडामा मल्हम लगाउने माध्यम बनाउन सकिन्छ भन्ने विश्वासका साथ कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताए ।
‘संकटको यस घडीमा हामीले संगीतलाई मनोरञ्जनबाट सेवातर्फ मोड्ने निर्णय गर्यौँ,’ श्रेष्ठले भने, ‘एटलान्टाका नेपाली दाजुभाइ(दिदीबहिनीले देखाउनुभएको एकता, माया र सहयोगले यो सम्भव भयो ।’
उनले अगाडि भने, ‘शोकलाई शक्तिमा, संगीतलाई सेवामा भन्ने भावनासहित पूर्वनिर्धारित १२ भदौ (२८ अगस्ट)को एटलान्टा कार्यक्रमलाई राहत तथा सहयोग अभियानमा परिणत गर्ने निर्णय लियौँ, त्यही अपेक्षाअनुसार अर्थपूर्ण रकम संकलन भएकोमा कन्दरा सम्पूर्ण सहयोगीप्रति आभारी छ ।’
कन्दरा ब्यान्ड २२ साउन (७ अगस्ट) देखि १४ असोज (३० सेप्टेम्बर)सम्म दुई महिना लामो अमेरिका सांगीतिक टुरमा रहेको छ । ‘रिदम अफ चेन्ज’ नाम दिइएको उक्त सांगीतिक यात्रा बोस्टन सहरबाट सुरु भएको थियो ।
एटलान्टापछिका बाँकी दुई सहर भर्जिनिया र कोलोराडोमा ब्यान्डले प्रस्तुति दिनेछ । यी दुवै प्रस्तुतिमा ब्यान्डले भोटेकोशी र त्रिशूलीको विनाशकारी बाढी प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउने जनाएको छ ।







