गण्डकी प्रदेशमा भदौ महिनामा भएका ९१ वटा सवारी दुर्घटनामा परि २१ जनाको मृत्यु भएको छ।
दुर्घटनामा १४ पुरुष र ७ महिलाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखरा कास्कीले जारी गरेको भदौ महिनाको प्रगति विवरण अनुसार दुर्घटनामा परि १ सय ७६ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा ३३ जना गम्भीर र १४३ जना सामान्य रहेका छन्। गम्भीर घाइते हुनेमा २५ पुरुष, ७ महिला र १ बालक छन्। त्यस्तै सामान्य घाइतेमा ९२ पुरुष, ४० महिला, ४ बालक र ७ बालिका रहेका छन्। दुर्घटनामा कुल १२१ वटा सवारी साधन संलग्न भएका छन्। प्रहरीले दुर्घटनामा परेका ९१ जनाको उद्धार गरेको छ।
दुर्घटनाको कारणबारे जानकारी दिँदै सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले भने, ‘अधिकांश दुर्घटना सवारी चालकको लापरवाहीका कारण भएका छन्। कुल ९१ दुर्घटनामध्ये ७४ वटा चालकको कारणले भएका हुन्।’
चालकको कारणले भएका दुर्घटनामा तीव्र गतिका कारण ३८, मादक पदार्थ सेवनका कारण १६ र अन्य कारणले २० वटा भएका छन्। यस्तै सवारी साधनको खराबीका कारण ६, यात्रुको लापरवाहीले ९ र सडकको खाल्डाखुल्डीका कारण २ वटा दुर्घटना भएका छन्।
प्रहरीले भदौ महिनाभर ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ५५३ वटा सवारी साधनलाई कारबाही गरेको छ। कारबाहीबाट १ करोड २८ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ। सो अवधिमा ३ हजार ७८८ पटक सवारी चेकिङ गरिएको थियो। ६ हजार ३७७ पटक ट्राफिक प्रहरी परिचालन गरिएको थियो।
विशेष कारबाही अन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४५ जनाबाट ३ लाख ८९ हजार रुपैयाँ र तीव्र गतिमा चलाउने २६६ जनाबाट १ लाख ५१ हजार रुपैयाँ राजस्व उठाइएको छ। स्वरूप परिवर्तन गर्ने १२६ वटा सवारीलाई १ लाख ४९ हजार ६ सय रुपैयाँ जरिवाना गराई यातायात व्यवस्था कार्यालय पठाइएको छ।
लेन अनुशासन उल्लङ्घन गर्ने ३४५ जनाबाट २ लाख १३ हजार रुपैयाँ र ओभरलोड बोक्ने २४१ वटा सवारीबाट ४ लाख २७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
प्रहरीले ५ हजार १२६ वटा सवारी साधन चेकिङ गरी २४९ वटाको नम्बर प्लेट सुधार गराएको छ। ७२८ वटा सवारी साधनको भाडादर अनुगमन गर्दा १ हजार ६९५ वटामा भाडादर टाँस भएको पाइएको थियो।
नियम उल्लङ्घन गर्ने २९ वटालाई कारबाही गरिएको छ। यस्तै ६१ वटा सार्वजनिक सवारीमा सिसिटिभी तथा ड्यास्क्याम जडान गरिएको छ भने हराएका ८ वटा सवारी साधन फेला पारी धनीलाई बुझाइएको छ।
लागुपदार्थ सेवन गरी सवारी चलाउने ४ जना चालक र नियम उल्लङ्घन गर्ने अन्य ४ जनाको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालयमा पठाइएको छ। लमजुङ, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा समेत लागुपदार्थ सेवन चेकिङ र सवारी अनुगमनलाई तीव्र पारिएको छ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा बसपार्क र महेन्द्रपुलमा बस बिसौनी बोर्ड राखिएको छ। गैराचौतारा र बुलौदीका ब्लाक स्पटमा १८ थान रेफ्लेक्टर टेप टाँसिएको छ।
प्रहरीले ट्राफिक सचेतनामूलक ४ हजार ६२६ वटा कार्यक्रम मार्फत २ लाख ४५ हजार ७०८ जनालाई लाभान्वित बनाएको छ।







