नयाँलिपि गण्डकीस्तरीय फुटसलको फाइनलमा एनएसजेफ गण्डकी र बागलुङ

पोखरा । कल्प मिडिया मल्टीपर्पाेज प्रालिद्वारा आयोजित नयाँलिपिको ‘गण्डकी प्रदेशस्तरीय मिडिया फुटसल प्रतियोगिता – २०८३’को फाइनलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकी र नेपाल पत्रकार महासंघ (एनएफजे), बागलुङबीच प्रतिष्पर्धा हुने भएको छ ।

पोखरा रंगशालाको मल्टिपर्पाेज हलमा शुक्रबारदेखि सुरु भएको मिडिया कपमा एनएसजेएफ र बागलुङले समान ७ अंककासाथ फाइनलमा पुगेका हुन् । लिगकम नकआउट अवधारणामा खेलाइएको प्रतियोगितामा गण्डकीले आयोजक नयाँलिपि र लेखनाथ पत्रकार मञ्चलाई पराजित गरेको थियो ।

अर्काे खेलमा बागलुङसँग बराबरी खेलेपछि ७ अंक प्राप्त गर्दै फाइनलमा पुगेको हो ।

यता, बागलुङले पनि लेखनाथ पत्रकार मञ्च र आयोजकलाई हराउँदै गण्डकीसँग बराबरी खेलेपछि समान ७ अंक बटुल्दै फाइनलमा प्रवेश गरेको हो ।

फाइनल प्रतिष्पर्धा शनिबार दिउँसो १ बजेदेखि सुरु हुने आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जनाएका छन् ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ्ले पत्रकार र आबद्ध संस्थाहरुबीच एकता र पेशागत सम्बन्ध सुधारमा खेल महत्वपूर्ण माध्यम बन्ने.धारणा राखिन् ।

समग्र खेल क्षेत्रसँगै खेलकुद पत्रकारितामा पनि आवश्यक बजेटको अभाव रहेको भन्दै आगामी वर्षको बजेट दुबै क्षेत्रलाई सम्बोधन हुने बजेट आउनेमा आफु विश्वस्त रहेको मन्त्री गुरुङले बताइन् । उनले प्रतियोगिताको सफलताको शुभकामनासमेत दिइन् ।

सभापतिको आसनबाट बोल्दै आयोजक मिडियाका अध्यक्ष श्रेष्ठले प्रतियोगिताबाट आर्जित रकम हालै भोटेकोशी बाढीबाट प्रभावितहरुको राहतमा खर्च गरिने जानकारी दिँदै सम्पूर्ण टिम र सहभागी खेलाडी पोखरामा स्वागत गरेका छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Scroll to Top