जनप्रियमा भ्वाईस अफ चिल्ड्रेनको अभिमुखीकरण

पोखरा । जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरामा भ्वाईस अफ चिल्ड्रेन गण्डकी प्रदेशले अभिमुखीकरण दिएको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रतिनिधि शिक्षकलाई १ दिने अभिमुखीकरण दिएको हो । बाल अधिकार, बालसंरक्षण तथा अनलाइन बालयौन दुर्व्यवहार रोकथाम सम्वन्धी अभिमुखीकरण प्रदान गरिएको भ्वाईस अफ चिल्ड्रेन कास्कीकी प्राजेक्ट अफिसर अप्सरा गुरुङले जानकारी दिइन् ।
सडक बालबालिका तथा विभिन्न हिंसाबाट पीडित बाबुनानीहरुको विशेष सरोकार राख्ने ५० जिल्लामा सेवा विस्तार भएको भ्वाईस अफ चिल्ड्रेनले न्याय पूर्ण समाजको परिकल्पना गर्दै दुर्व्यहार, शोषण, अपहेलना र पिछडिएका बालबालिकालाई गुणस्तर युक्त जीवन सहजताको लागि कार्य गर्दैै आएको अफिसर गुरुङले जानकारी दिइन् । १ हजार ८ सय बढी विद्यार्थी भएको जनप्रियमा अर्थपूर्णै सहभागिता, निष्ठा, जवाफदेहिता, पारदर्शीता, नयाँ विचार र नविनताको लागि खुल्ला साझेदारी र अन्तर सम्वन्धमा केन्द्रीत कार्य हुने विद्यालयका प्रअ देवीप्रसाद बस्ताकोटीले बताए ।

प्रअ बस्ताकोटीले साथी शिक्षा अभियानलाई अवलम्बन गर्दैै भ्वाईस अफ चिल्ड्रेनसँग सहकार्य गरेको उल्लेख गरेका थिए । अनलाईन हिंसाबाट धेरै बालबालिका पीडित बनेको घटनाहरु दिनानुदिन बढ्दै जानु समाज र राज्यबाट हुने सकारात्मक कदमको प्रभाव कम भएको कार्यक्रम सहभागिहरुले उल्लेख गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थान समितिका अध्यक्ष देवीप्रसाद त्रिपाठी, शिक्षक अभिभावक संघका अध्यक्ष केदार धमलाले विद्यार्थीलाई मनोवैज्ञानिक असर नपर्ने गरी बालबालिकाको अधिकार सुरक्षित गर्न सवैले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए । बालबालिकाले नजानेर हिंम्सामा पर्ने गरेको घटना बुद्धि हुँदा परिवारमा समस्या बढेको छ । बालबालिकाहरुमा एक्लोपना, न्युन खुसी, गृहकार्यमा कमी, विद्यालय अनुपस्थित, परीक्षामा अनुत्तिर्ण लगायत धेरै इन्डिकेटरलाई विद्यालय र शिक्षकले ध्यान दिनसकेमात्र भ्वाईस अफ चिल्ड्रेनको योजना सफल हुने बताईएको थियो ।

Scroll to Top