‘भूकम्पले लोमान्थाङको ५ सय घरमा क्षति, सुरक्षित आवास र राहत व्यवस्था गर’ – सांसद गौचन

मुस्ताङको लोमान्थाङमा हालै गएको भूकम्पका कारण ३०० देखि ५०० घरधुरीमा क्षति पुगेको भन्दै नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले प्रभावित परिवारका लागि तत्काल सुरक्षित आवास र राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थकालीले गत भदौ २३ गते राति लोमान्थाङ गाउँपालिकाको छोसेर केन्द्रविन्दु भएर गएको ५।३ म्याग्निच्युडको भूकम्प र त्यसपछिका निरन्तर धक्काहरूले ठूलो भौतिक क्षति पुर्‍याएको जानकारी गराए।

‘लोमान्थाङका वडा नम्बर १ देखि ५ सम्मका घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ,’ सांसद थकालीले भने, ‘प्रारम्भिक अध्ययन अनुसार ३०० देखि ५०० घरधुरीमा सामान्यदेखि गम्भीर क्षति पुगेको छ भने केही घरहरू पूर्ण रूपमा बस्न नमिल्ने अवस्थामा पुगेका छन्।’

उनले लोमान्थाङ क्षेत्र परम्परागत माटाका घरहरू (र्‍याम्प अर्थ प्रविधि)ले बनेको ऐतिहासिक तथा सांस्कृतिक ‘लिभिङ म्युजियम’ भएको उल्लेख गर्दै भूकम्पपछि परेको वर्षाले चर्किएका संरचना थप जोखिमपूर्ण बनेको बताए।

विद्यालय, सार्वजनिक संरचना तथा धार्मिक-ऐतिहासिक सम्पदाहरूमा समेत क्षति पुगेको उल्लेख गर्दै सांसद थकालीले क्षतिको यथार्थ मूल्याङ्कन गरी प्रभावितहरूका लागि राहत, क्षतिपूर्ति तथा पुनर्निर्माणको ठोस व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।

Scroll to Top