तालबाराही स्कुलमा क्षेत्रलाल प्रतिष्ठानको पुरस्कार

पोखरा ।
तालबाराही मावि लेकसाईडमा कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले पुरस्कार वितरण गरेको छ । १९ सेक्सनबाट आन्तरिक परीक्षामा उत्तीर्ण ५७ जना विद्यार्थीलाई पुरस्कार प्रदान गरेको कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई पुरस्कार वितरण कार्यक्रममा होटल संघ पोखराको अध्यक्ष लक्ष्मण सुवेदीले प्रतिष्ठानले प्रशंसा योग्य काम गरेको बताए । सुवेदीले भविष्यमा होटल संघले पनि शिक्षा क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउँदै न्यूकास कन्सर्न प्रालिले शिक्षा क्षेत्रमा दिएको योगदान स्मरण योग्य रहेको बताए ।

उनले विद्यार्थीलाई हौसला, प्रेरणा र पठनशैलीको विकास गर्न यस्ता पुरस्कारहरुले थप उत्साहित बनाउने बताए । विद्यालयका प्रअ ताराप्रसाद पोखरेलले शैक्षिक गुणस्तर सुधार गर्न कलाकार कायस्थ प्रतिष्ठानले उत्प्रेरणा थपेको बताए । संस्थाका सचिव प्राज्ञ कमल पौडेल अथकले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्य केदार धमलाले पुरस्कार सहयोग प्रदान गरेर न्यूकास कन्सर्न प्रालिले प्रतिष्ठान र विद्यालयलाई ठूलो सहयोग गरेको बताए ।

विद्यार्थीलाई पानी पिउने गिलास र थर्मस पुरस्कार प्रदान गरेको न्यूकास कन्सर्न प्रालिका प्रमुख प्रशासकीय अधिकृत निरज कायस्थले जानकारी दिएका थिए । कार्यक्रममा वडा सदस्य बासुदेव बराल र पवित्रा थापाले विद्यालयलाई अब्बल र नमुना बनाउन सवैको सहयोग, मेहनेत र लगनशीलताले मात्र पुरा हुनेमा जोड दिएका थिए । प्रतिष्ठानले यस अघि कन्या मावि, बालमन्दिर, ज्ञानभूमि, नवीन मावि, नवप्रभात र महेन्द्र माविमा कलाकारिता योगदान गरिसकेको छ । ५० हजार रुपैयाँको नवीन कलाश्री पुरस्कार कलाकार किरण मानन्धरलाई प्रदान गरिसकेको छ । शिक्षा क्षेत्रमा योगदान गर्दै आएको प्रतिष्ठानले तालबाराही माविमा हुने आगामी आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार निरन्तर प्रदान गर्ने जनाएको छ । न्यूकास एकेडेमीक उत्कृष्ट अवार्डबाट पुरस्कृत विद्यार्थी र उपस्थित अभिभावले खुसी हुँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

Scroll to Top