पोखरामा वर्षाको पानी तर्काउने र सडक सुरक्षा गर्ने ढलकोे उचित व्यवस्थ नहुँदा आज आमा र छोरीले मुस्किलले ज्यान बचाएका छन् ।
शुक्रबार दिउँसो सडक नालीको भलले बगाउँदा दुई जना गम्भीर घाइते भएका छन् । पोखरा महानगरपालिका-१७ हर्कमेयर चोकमा आमा र छोरीलाई पानीको तीव्र भलले बगाएको हो ।
घाइते हुनेमा पोखरा-३० ढुंगेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानिका दाहाल रहेका छन् ।
बिरौटाबाट पृथ्वीचोक आउँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर रोकेर झर्ने क्रममा उनीहरूलाई भलले बगाएको थियो ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा दिउँसो ४:२३ बजे बिरौटास्थित नहरको कुलोबाट उनीहरूको उद्धार गरिएको छ ।
उद्धार गरिएका दुवै जनालाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ । उनीहरूको अवस्था गम्भीर रहेको र बाहिरी चोट भने नदेखिएको प्रहरीले बताएको छ । घाइते सुष्माका श्रीमान ३० वर्षीय कमल दाहालले स्कुटर चलाएका थिए ।







