सेनाको सक्रियतामा वीरेठाँटी-घान्द्रुक सडक पुनर्निर्माण सुरु, महिना दिन लाग्ने अनुमान

कास्कीको अन्नपूर्ण गाउँपालिका-८ स्थित वीरेठाँटी–घान्द्रुक सडकखण्डको पुनर्निर्माण आजदेखि सुरु भएको छ ।

अविरल वर्षापछि मोदी खोलामा आएको बाढीले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका चार वडा सडक सम्पर्कबाट विच्छेद भएका छन् । मोदी खोलाको कटानका कारण वीरेठाँटीमा करिब १०० मिटर कालोपत्र सडक बगाएको छ ।

बाढी र पहिराले गाउँपालिकाका विभिन्न क्षेत्रमा समेत भौतिक क्षति पुर्‍याएकाले नेपाली सेनाको सक्रियतामा सडक पूनर्निमाण थालिएको पालिका अध्यक्ष विष्णु केसीले जानकारी दिएका छन् ।

सेनाको सक्रियतामा स्थानीयवासीसमेत मिलेर आजबाट पूनर्निमाण सुरु गरेका छौं’ पालिका अध्यक्ष केसीले भने ‘मौसम अनुकुल भइदिए भदौ मसान्तसम्म यातायात पुनः सुचारु हुनेछ ।’

उक्त खण्डको ६ स्थानमा सडक क्षति भएकाले पुनर्निर्माणमा समय बढी लाग्ने केसीको भनााई छ ।

सडक पुनर्निर्माणमा करिब सय नेपालीको सेना जुटेको बताउँदै केसीले मुख्यतः खोला किनारमा तारजाली भर्ने भूमिका रहेको उनले बताए ।

तारजाली प्रदेश सरकारले उपलब्ध गराएको र पालिकाले जेसिबीलगायत आवश्यक ढुंगाको जोहो गर्ने भएको छ ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिले सहयोग गर्ने आश्वासन पाएपछि पुनर्निर्माण सुरु गरेको बताउँदै केसीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पुनर्निर्माणका लागि रु. २० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरे ।

उक्त खण्ड घान्द्रुक, छुम्रुङ र अन्नपूर्ण आधार शिविर (एबिसी) जाने प्रमुख प्रवेशमार्ग हो । त्यस्तै, वीरेठाँटी हुँदै तिखेढुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी तथा पुनहिल जाने महत्त्वपूर्ण पर्यटकीय मार्गसमेत यही क्षेत्रबाट सञ्चालन हुँदै आएको छ ।

Scroll to Top