पदक मिलेमतोउपर छानबीन गर्ने समितिको म्याद थप

गण्डकी खेलकुद परिषद्को पदक वितरणमा भएको अनियमितताको छानबिन गर्न गठित समितिको म्याद तीन दिन थपिएको छ ।

गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

उक्त समितिको म्याद शुक्रबार सकिएको छ । साउन २४ गते बनेको छानबिन समितिको म्याद सकिएपछि पुनः ३ दिन थपिएको हो ।

समितिका अनुसार छानबीन सकिएपछि अब प्रतिवेदन तयार पार्न थप समय आवश्यक परेको हो ।

पदक वितरणमा भएको चरम लापरवाही, मिलेमतो तथा आर्थिक अनियमितताको आरोपबारे छानबिन गर्न मन्त्रीस्तरीय निर्णयबाट तीन सदस्यीय समिति गठन गरिएको थियो ।

समितिमा मन्त्रालयका प्रवक्ता तथा खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेल र मन्त्रालयका युवा महाशाखा प्रमुख नारायणप्रसाद बास्तोला सदस्य छन् ।

गण्डकी खेलकुद परिषद्ले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतो भएको आरोप लागेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

Scroll to Top