प्रदेश पदक प्रकरणः – ‘विज्ञप्ती निकालेर चोखिने सम्भावना छैन, सबै प्रक्रियामा गइसक्यो’

गण्डकी खेलकुद परिषद्को पदक वितरणमा भएको अनियमितताको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा गठित समितिले मन्त्री रेखा गुरुङ्लाई प्रतिवेदन बुझाएपछि अब बाँकी प्रक्रिया अघि बढ्ने बताइएको छ ।

गण्डकी खेलकुद परिषद्ले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाही र मिलेमतो भएको आरोप लागेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको थियो ।

यसैबीच, परिषद्का कार्यकारी सदस्य भेनिश थापा र कञ्चन थापा कोइरालाले संयुक्त विज्ञप्ती जारी गर्दै पदक वितरणको निर्णय र कार्यान्वयनमा आफ्नो कुनै संलग्नता नरहेको भनाई राखेका छन् ।

कार्यकारी सदस्यद्वयले पदक वितरणमा गम्भीर त्रुटि र लापरवाही भएको भन्दै त्यसको जिम्मेवारी आफूहरुले नलिने विज्ञप्तीमार्फत बताएका हुन् ।

तर उनीहरुको प्रष्टिकरण भने छानबिन समितिले प्रतिवेदन मन्त्री समक्ष बुझाइसकेपछि आएको हो । यसको आशय प्रतिवेदनले पदक वितरण ठिक भएको उल्लेख गरे चुपचान बस्ने र गलत देखिए विज्ञप्ती निकालेर पन्छिने प्रयास भएको ठहर्छ ।

यस विषयमा नयाँलिपिले छानबिन समितिका सदस्यसँग ‘विज्ञप्ती निकालेपछि उनीहरु उम्कन सक्छन् ?’ भनि प्रश्न गरेको छ ।

जवाफमा छानबिन समितिका सदस्य एवं खेलकुद महाशाखा प्रमुख घनश्याम पौडेलले कसैले विज्ञप्ती निकालेर समितिलाई कुनै प्रभाव नपर्ने प्रतिक्रिया दिएका छन् ।

‘विज्ञप्ती निकालेर मेरो संलग्नता छ वा छैन भन्नु उहाँहरुको निजी कुरा हो’ मन्त्रालयका प्रवक्तासमेत रहेका पौडेल भन्छन् ‘कसैको अभिव्यक्ति वा विज्ञप्तीलाई समितिले महत्व दिँदैन ।’ उनका अनुसार समितिले कसैको विज्ञप्ती नभई प्रक्रियालाई हेर्ने हो ।

छानबिनकाक्रममा संकलित प्रमाण, माइन्यूट र घटनाक्रममा दोषी देखिएपछि सोही बमोजिम प्रतिवेदन तयार पारि मन्त्रीसमक्ष बुझाइएको उनको भनाई छ ।

‘प्रतिवेदन बुझाइसकेका छौं, अब मन्त्रीज्यूबाटै बाँकी प्रक्रिया अघि बढ्छ’ पौडेलले प्रष्ट्याएका छन् ।

एक फरक प्रसंगमा पौडेलले कतिपय अवस्थामा बैठकमा हाजिरी गरेर सकिनु अगावै बाहिरिने परिपाटीले यसअघि पनि विभिन्न गल्ती भएको उल्लेख गरे ।

यता, विज्ञप्तीमार्फत सदस्यद्वयले भने आवश्यक परेमा आफ्नो असहमति, कागजात तथा तथ्य प्रमाण सम्बन्धित निकायमा प्रस्तुत गर्न तयार रहेको बताएका छन् ।

Scroll to Top