‘अफराइडर’ र बिचौलियाले दुख दिएपछि सीडीओ गुहार्दै यातायात व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले पोखराको यातायात क्षेत्रमा देखिएका विभिन्न विकृति र अव्यवस्थित क्रियाकलाप नियन्त्रण गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ।

महासंघले आज एक पत्र बुझाउँदै पृथ्वीचोक बसपार्क क्षेत्रमा हुने गैरकानुनी गतिविधि रोक्न माग गरेको हो।

महासंघका गण्डकी प्रदेश संयोजक महेश बहादुर थापाले पोखराको पृथ्वीचोक बसपार्क क्षेत्रमा सवारी साधन नै नभएका व्यक्तिहरुले समेत टिकट काउन्टर खोल्ने गरेको बताए।

त्यस्तै, उनले राइड सेयरिङमा दर्ता नै नभएका दुई पाङ्ग्रे निजी सवारी साधनहरुले यात्री तानातान गर्ने र मनपरि भाडा लिएर यात्रीलाई ठग्ने जस्ता विकृतिजन्य क्रियाकलाप बढेको पत्रमा उल्लेख गरे। यस्ता गतिविधिले पोखराको सौन्दर्य र शान्ति सु-व्यवस्थामा समेत चुनौती दिइरहेको उनको भनाइ छ।

पर्यटकीय नगरी पोखराबाट देशका विभिन्न स्थानमा जाने र देश-विदेशबाट पोखरा भ्रमण गर्न आउने झण्डै ९५ प्रतिशत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सार्वजनिक यातायातका साधनहरुले नै सेवा दिँदै आएको महासंघले जनाएको छ।

सार्वजनिक यातायातमा झण्डै ९९ प्रतिशत निजी क्षेत्रका व्यवसायीहरुको लगानी रहेको तथ्य प्रस्तुत गर्दै महासंघले निजी क्षेत्रको लगानीलाई संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व हुने बताएको छ।

परिवर्तित समयअनुसार राज्यले लिएको राष्ट्रिय यातायात नीति २०६३ मा उल्लेख गरेका ऐन नियमहरुको पालना गर्न निजी क्षेत्र प्रतिबद्ध रहेको पत्रमा उल्लेख छ।

महासंघले शान्ति सु-व्यवस्था कायम गर्न, चोरी डकैती तथा अव्यवस्थित क्रियाकलाप नियन्त्रण गर्न स्थानीय प्रशासनसँग हातेमालो गर्दै अगाडि बढ्न तयार रहेको जनाएको छ।

यातायात व्यवस्थापनको अभिभावकत्व ग्रहण गरी सु-शासन कायम गर्न कास्की जिल्ला भित्र रहेका आधिकारिक यातायात व्यवसायीहरुको संयुक्त बैठक राखी सार्वजनिक यातायात सञ्चालनमा सरल, सहज र सुव्यवस्थित वातावरण सिर्जना गरिदिन महासंघले माग गरेको छ।

यसका लागि मातहतका निकायहरुलाई आवश्यक निर्देशन दिनसमेत प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको छ।

Scroll to Top