सार्वजनिक बसमा महिलाको पर्स चोरी गर्ने तीन जना कास्कीमा पक्राउ

कास्की प्रहरीले सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको गहनासहितको पर्स चोरी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको रूपा गाउँपालिका वडा नम्बर ५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको बसमा सवार महिलाको पर्स चोरी भएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

असार ३२ गते दिउँसो करिब ३ बजे ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १३ रांखोला बस्ने २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको थियो ।

पर्सभित्र रहेको सुन जस्तो देखिने पहेंलो रंगको हार १ थान र चाँदीको २ थान बेरुवा औंठी अपरिचित तीन जना व्यक्तिहरूले चोरी गरेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मातहतको वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरी टोली खटिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको साथबाट १ थान सुन जस्तो देखिने पहेंलो रंगको हार र चाँदीका २ थान बेरुवा औंठी बरामद गरेको छ । उक्त हारलाई प्रतिवादीहरूले टुक्रा–टुक्रा पारी आपसमा बाँडेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर १५ बस्ने ४२ वर्षीय गुरु प्रसाद बजगाईं रहेका छन् ।

त्यसैगरी रौतहट चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर ८ घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिवन बस्ने ३४ वर्षीय रविन खड्का र झापा कनकाई नगरपालिका वडा नम्बर ८ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ६ खहरे बस्ने ४५ वर्षीय ‘सूर्य’ भन्ने टेक बहादुर भुजेल पक्राउ परेका हुन् ।

Scroll to Top