डुम्रे सांस्कृतिक युवा परिवारको आयोजनामा शुक्रबारदेखि एक महिने निःशुल्क नेवारी भाषा तालिम कार्यक्रम औपचारिक रूपमा शुभारम्भ भएको छ।
भाषा, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र नयाँ पुस्तामा मातृभाषाप्रति आकर्षण बढाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा बालबालिका, युवा तथा स्थानीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको छ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा प्रमुख अतिथि तथा बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमका अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा प्रशिक्षकलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। उद्घाटनपछि सहभागीलाई नेवारी भाषाको परिचय,आधारभूत शब्द तथा दैनिक प्रयोग हुने सामान्य संवादबाट प्रशिक्षण सुरु गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार आगामी एक महिनासम्म नियमित रूपमा सञ्चालन हुने यस तालिमले नयाँ पुस्तामा नेवारी भाषा सिक्ने वातावरण सिर्जना गर्नुका साथै स्थानीय भाषा, संस्कृति र पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने छ ।
क्लबका सचिव सुरज खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपाध्यक्ष शिवकुमार श्रेष्ठले भाषा संरक्षणबारे धारणा राखेका थिए भने संस्थाका अध्यक्ष शम्भु श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा आगामी गतिविधिबारे जानकारी गराएका थिए ।








