स्वास्थ्य प्रतिष्ठानका उपकूलपतिसँग प्रम, सातै प्रदेशमा बर्न हस्पिटल खोल्न निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ ‘जलन उपचार’ केन्द्र स्थापना गर्ने योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले प्रमुख सरकारी अस्पतालका बर्न वार्डलाई सुदृढ बनाउन आवश्यक योजना कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने सुनिश्चितताका लागि संघ, प्रदेश र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।

उनले गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालको सरसफाइ, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।

प्रधानमन्त्रीले विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालहरूले बहिरङ्ग (ओपीडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।

उनले एक स्वास्थ्य संस्थाले विकास गरेका सफल अभ्यास अन्य संस्थाले पनि अपनाउनुपर्नेमा जोड दिँदै प्रतिष्ठानका नाममा रहेका जग्गा अतिक्रमणका समस्या सम्बन्धित निकायसँग समन्वय गरेर कानुनबमोजिम समाधान गरिने बताए।

छलफलका क्रममा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा विस्तार, अस्पतालको सरसफाइ, विशेषज्ञ स्वास्थ्य सेवा, दक्ष जनशक्ति व्यवस्थापन, अनुसन्धान प्रवर्द्धन तथा पूर्वाधार विकासका विषयमा सुझाव प्रस्तुत गरेका थिए।

उनीहरूले स्वास्थ्य सेवाको डिजिटल रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको असरबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा।डा। अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. विवेक आचार्य सहभागी थिए।

Scroll to Top