मानव सेवा आश्रम नेपाललाई यस वर्षको श्रीपति समाज सेवा पुरस्कार प्रदान गरिने भएको छ ।
श्रीपति कोईराला गुठीले शनिबार पोखरामा २ लाख २२ हजार २२२ रुपैयाँ राशिको उक्त पुरस्कार घोषणा गरेको हो । गुठीले श्रीपति कोइरालाको २१९ औं जन्मजयन्तीको अवसर पारेर यो निर्णय लिएको हो ।
समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने संस्थालाई गुठीले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । यस वर्ष पुरस्कार छनोट समितिको सिफारिसमा मानव सेवा आश्रमलाई छनोट गरिएको हो ।
पुरस्कारको साथमा समाज सेवा पदक र सम्मान पत्र समेत प्रदान गरिनेछ । गुठीको आगामी साधारण सभाको विशेष समारोहमा यो पुरस्कार हस्तान्तरण गरिने जानकारी दिइएको छ ।
आश्रमले सडक पेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा र अशक्त मानिसको उद्धार गर्दै आएको छ । उनीहरुको उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलनमा आश्रमले पु¥याएको योगदानको कदर गर्दै पुरस्कार दिन लागिएको हो ।
‘खुला आकाशमुनि रहेका असहाय र अभिभावकविहीन मानिसको मानवोचित व्यवस्थापन गरी आश्रमले समाज सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ,’ गुठीका अध्यक्ष फणीन्द्रराज कोइरालाले भने ।
श्रीपति कोइरालाको जन्म विसं १८६४ असार २७ गते पोखराको गैह्रापाटनमा भएको थियो । उनले भारतको बनारसमा ज्योतिषशास्त्र, धर्मशास्त्र, तन्त्रविद्या र आयुर्वेदको उच्च शिक्षा अध्ययन गरेका थिए ।







