पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन् ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले सिफारिस समितिको सिफारिसका आधारमा उनलाई सो पदमा नियुक्त गरेका हुन् ।
उपकूलपतिमा नियुक्त गुरुङ प्रतिष्ठानकै जनरल प्राक्टिस तथा इमर्जेन्सी विभागमा कार्यरत थिए।
प्रधानमन्त्री शाहले पोखरासहित देशका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा एकैसाथ नयाँ उपकुलपतिहरू नियुक्त गरेका छन् ।
सरकारले अन्य ५ वटा प्रतिष्ठानहरूमा पनि नेतृत्व चयन गरेको छ । जसअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा डा. विवेक आचार्यले जिम्मेवारी पाएका छन् ।
उनी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ हुन् । डा. आचार्य यसअघि न्याम्सको क्यान्सर विभागका प्रमुखका रूपमा कार्यरत थिए ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान चयन भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्कीलाई नियुक्त गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा। सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन् ।
यी पदहरूमा नियुक्तिका लागि सरकारले उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको थियो ।
समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ निर्माण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो । सोही कार्यविधि अनुसार समितिले उपकुलपति पदका लागि आवेदन माग गर्दै जेठ ४ गते सूचना प्रकाशन गरेको थियो ।
छनोट प्रक्रियामा देशभरबाट ११३ जनाले आवेदन दिएका थिए ।







