धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गर्ने १० जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असार २३ गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।
प्रतिष्ठानमा उपचारार्थ आउने बिरामीहरूलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिन्छु भन्ने प्रलोभनमा पारेर अवैध कमिसन लिने गरेको सूचनाका आधारमा प्रहरीले सो कारबाही गरेको हो ।
पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय रन्जित कुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीया रबिना मण्डल र भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय हस्त श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २० वर्षीय सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय सान्बिन किराती, सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय मनिष बुढाथोकी र उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय उमेश कुमार चौधरी पनि पक्राउ परेका छन् ।
प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १७ बस्ने ३५ वर्षीय धिरोज निरौला, इनरुवा नगरपालिका वडा नम्बर २ बस्ने ३१ वर्षीय रोहित मेहता र धरान उपमहानगरपालिका वडा नम्बर ११ बस्ने १८ वर्षीय विनोद भट्टराईलाई पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले बताए ।
प्रहरीले यसअघि पनि अस्पताल आसपासमा हुने बिचौलियाहरू पक्राउ गर्ने अभियान चलाउँदै आएको छ ।







