‘पीआर’ लिएका २ कर्मचारी अयोग्य ठहर, कारवाही सिफारिश

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ कर्मचारीलाई सेवामा अयोग्य ठहर गर्दै कारवाही सिफारिश गरेको छ ।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाए अनुसार विदेशमा स्थायी अनुमनि (पिआर) लिएर बसेका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही सिफारिस गरिएको र अन्यको पनि खोजी सुरु गरिँदैछ ।

मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन र असाधारण बिदा सकिए पनि लामो समयदेखि कार्यालयमा अनुपस्थित छन्। मन्त्रालयका अनुसार उनीहरुले अस्थायी र स्थायी आवासीय अनुमति लिएको पाइएको हो ।

मन्त्रालयका अनुसार निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरि कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न भनिएको छ ।

‘कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको छ’, मन्त्रालयले जनाएको छ ।

Scroll to Top