पोखरा महानगरपालिका १७ नम्बर वडाबासीले त्यहाँको नहरमा फोहोर फाल्ने गरेको स्वयं वडा कार्यालयले जनाएको छ
स्थानीयले फेवातालदेखि महतगौंडासम्म पुग्ने नहरमा ढल र फोहोर मिसाउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । वडाले यसअघि १५ दिनको समय दिएकोमा अहिले पुनः सात दिने दोस्रो सूचना जारी गरेको हो ।
वडा कार्यालयले जारी गरेको सूचना अनुसार फेवातालदेखि सुरु भएर पावरहाउस तथा राम मन्दिरबाट छुट्टिएर महतगौंडासम्म पुग्ने मुलकुलो तथा अन्य सहायक नहरहरूमा छेउछाउका घरहरूले ढलको पानी सिधै फाल्ने गरेको पाइएको छ ।
त्यसैगरी अन्य फोहोरहरू समेत जथाभावी नहरमा फाल्ने गरेको गुनासो प्राप्त भएको वडाले जनाएको छ ।
कावा वडाध्यक्ष विक्रम गुरुंगले जारी गरेको सूचनामा भनिएको छ, ‘नहरमा ढल र फोहोर फाल्ने कार्यले जलचर तथा पर्यावरणमा असर पुगेको छ । यसअघि नै १५ दिनभित्र आफ्नै जग्गाभित्र ढल व्यवस्थापन गर्न सूचना गरिएको थियो ।’
वडाले पहिलो सूचनाको पालना नभएपछि पुनः दोस्रो पटक सात दिने सूचना प्रकाशित गरेको हो ।
सूचनामा तोकिएको समयभित्र फोहोर र ढलको व्यवस्थापन नगरेमा नियमानुसार जरिवाना तथा अन्य कारवाही हुने व्यहोरा उल्लेख छ ।
साथै, सूचना अनुसार कामकारवाही नभएको पाइएमा जानकारी दिन समेत वडाले सम्पूर्ण सरोकारवाला नागरिकहरूलाई अनुरोध गरेको छ ।







