संयुक्त अरब इमिरेट्स (युएई)को दुबई इन्टरनेशनलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आगामी २३ सेप्टेम्बरदेखि दैनिक सिधा उडान सुरु हुने फ्लाई दुबईले लेखेको छ ।
युएईबाट पोखराको नयाँ रुटमा सेवा दिने यो पहिलो विमान सेवा प्रदायक (क्यारियर) हुनेछ ।
हिमालयको देश नेपालको दोस्रो ठूलो सहर तथा पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा सिधा उडान सुरु भएपछि यस क्षेत्रको पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
‘तपाईंको अर्को साहसिक यात्रा पर्खिरहेको छुु’, विमान कम्पनीले भनेको छ, ‘२३ सेप्टेम्बरदेखि हामी दुबई इन्टरनेशनलबाट नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिएचएच)मा दैनिक उडानहरू प्रस्ताव गर्दैछौं ।’
यो उडानसँगै दुबईबाट सिधै पोखरा आउन चाहने पर्यटक तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यात्रामा ठूलो सहजता हुनेछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयसम्म पनि अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसकिरहेको सन्दर्भमा यो दैनिक उडानको घोषणालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
दुबईबाट पोखरा आउँदा यात्रुले कम्तिमा ४० हजार ६ सय ७८ र पोखराबाट दुबई जाँदा ५७ हजार ४ सय ४४ रुपैयाँ भाडा तिर्नु पर्नेछ।







