करिब एक साताअघि कोरोला नाकाबाट मुस्ताङ भित्रिएका ७ सय ७५ ईभी गाडीको तस्बिर तपाइलाई याद छ ? उक्त गाडीहरु भन्सार छली गरी नेपाल ल्याइएको आशंकामा सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
मुस्ताङबाट पोखरातर्फ ल्याइँदै गरिएका ईभी गाडीहरुलाई यस क्षेत्रमा पर्ने सशस्त्रका गणहरुले नियन्त्रणमा लिने प्रयास गर्दा यतिबेला म्याग्दी, पर्वत र हेमजामा समातिएको छ ।
सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले नयाँलिपिलाई दिएको जानकारी अनुसार सशस्त्रलाई कर छलीसम्बन्धी सूचना बुधबार अबेर प्राप्त भएपछि एक्सनमा जाँदा मुस्ताङदेखि पोखरासम्म आइपुगेका गाडी नियन्त्रणमा लिइएको हो ।
यसबीच सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत र नं. २४ कालिका गण कास्कीबाट विशेष टोली खटिएको भट्टले बताए ।
अहिले राजश्व अनुसन्धान विभाग र भन्सारलगायत सम्बन्धित निकायसँग समन्वय भइरहेको र कानून कारवाही अघि बढाउन प्रक्रियागत हिसाबले अघि बढेको उनले जनाए ।
गाडी कसले वा कुन कम्पनीमार्फत आयात भइरहेकोबारे सोध्दा भट्टले बाँकी सूचना अनुसन्धानकारी निकायमार्फत पाउन सकिने बताए ।
।







