सगरमाथा शिविरमा एक साताअघि सम्पर्कविहीन दावा शेर्पा केहिबेर अघि जीवितै भेटिएका छन् ।
हिजो मात्रै सगरमाथाको सम्भावित तेस्रो शिविर आसपाससम्म हेलिकप्टरबाट खोज्दा समेत नभेटिएका दावा शेर्पा आज बिहान फेला परेका छन् ।
खुम्बु आइसफलको क्रयाम्पन पोइन्ट छेउमा आधारशिविरतर्फ घस्रिँदै आएको अवस्थामा उनलाई सगरमाथा प्रदुषण नियन्त्रण समितिका कामदारहरुले देखेपछि उद्धार गरेका हुन् ।
उनको हातका औँलाहरु हिउँले खाएका छन् भने शारीरिक अवस्था कमजोर भएको छ ।
यत्तिका दिन उनी के खाएर बाँचे र कसरी जीवितै रहे भन्नेमा खोजी टोली अचम्भित भएका छन् ।
समितिका कामदाहरुले यसलाई ‘चमत्कार’ भनेका छन् ।







