पोखराको पृथ्वीचोकमा दशक अघिदेखि सार्वजनिक जमिनमा बनाइएका संरचनामा महानगरले डोजर चलाएको छ ।
आज बिहानदेखि उक्त संरचना हटाउन सहारा क्लबले चर्चेको भवनमा डोजर लगाउँदै उक्त स्थानमा रहेका भवन भत्काउन थालिएको हो ।
पृथ्वीचोकस्थित बसपार्क अगाडिको संस्थान क्षेत्रमा सहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवन रहेका छन् भने हिमाली सांस्कृतिक परिवारका संरचना पनि महानगरले भत्काएको छ ।
त्यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले पनि सार्वजनिक संरचनामा मजदुर संगठनका कार्यालय निर्माण गरेका छन् । यी सबै दलीय दादागिरीका नमुना बनेका संरचनामा क्रमशः डोेजर चलिरहेको छ ।
जसमध्ये अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीको कार्यालय १६ वर्षअघि निर्माण गरिएको हो ।
उक्त कार्यालयले २०६७ सालमा करिब १ करोड ५३लाख खर्चेर भवन बनाई भाडा खाँदै आएको थियो ।
यी संस्थाहरुले पोखरा उपत्यका नगर विकास समितिको जग्गा भोगचलन गर्दै आएका थिए ।
केही संस्थाले संरचना बनाएर भाडासमेत उठाउने गरेको पाइएको छ । नेकपा निकट मजदुर संगठनले भने यसअघि नै आफ्नो संरचना भत्काएर चाबी बुझाइसकेको थियो ।
हङकङ बजार अगाडिका व्यवसायीले बुधबार राति नै सामान सारेर ठाउँ खाली गरिदिएका थिए ।
साहारा क्लबले सञ्चालन गरेको सार्वजनिक शौचालय पनि यही ठाउँमा छ । महानगरले संरचना हटाउन निकालेको ३५ दिनको समयसीमा सकिएपछि आजबाट डोजर चलाउन सुरु गरेको हो ।







