स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेक अन्य स्वास्थ्य बीमा सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डले वित्तीय संकटलाई कारण देखाउँदै निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेकका सेवा जेठ १५ गतेदेखि लागू हुने गरी स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले जेठ ११ गते बसेको बैठकको निर्णयअनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिकबाहेकका अन्य स्वास्थ्य बीमा सेवा अर्को निर्णय नभएसम्म स्थगित गरिएको जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शुकुन्तला प्रजापतिले जारी गरेको सूचनामा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उल्लेख छ ।
बोर्डले सम्बन्धित सेवाप्रदायक स्वास्थ्य संस्थालाई निर्णयबारे जानकारी गराउँदै आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।







