पोखरामा पनि तरबुजाको उत्पादन हुने र व्यवसाय फस्टाउने सम्भावना देखाएर आज आयोजित तरबुजा मेला सकिएको छ । ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा र वडा नम्बर १३ ले आयोजना गरेको ‘तरबुजा मेला २०८३’ले पोखराको नयाँ पहिचान थपेको मेयर धनराज आचार्यले उल्लेख गरे ।
उद्घाटनसत्रमा मेयर आचार्यले भने ‘पोखरामा एक वडा, एक उत्पादन कार्यक्रमलाई प्राथमिकताकासाथ लागु गरिएको छ । र, निरन्तरता दिइनेछ ।’
मेलामा तरबुजा खेती र उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। कृषक सम्मान, तरबुजा दौड, तरबुजा खाने प्रतियोगिता तथा तरबुजा क्विज आयोजना गरिएको मेलामा सहभागीलाई पुरस्कारस्वरूप तरबुजा नै प्रदान गरिएको थियो।
आयोजकका अनुसार मेलामा सबैभन्दा ठूलो तरबुजा उत्पादन गर्ने कृषक, सबैभन्दा मिठो तरबुजा उत्पादन गर्ने कृषक तथा उत्कृष्ट स्टल व्यवस्थापन गर्ने कृषकलाई सम्मान गरिएको थियो।







