उमेरले ३ दशक काटेका सुन्दर बराल धड्कन अचेल पोखराको वडा १३ स्थित विजयपुर खोलाको बलौटे किनारतिर भेटिन्छन् । पुम्दीभुम्दीको स्थानीय बरालले विजयपुर धाउन थालेको २ वर्ष भयो । उनी चाहन्छन् यो यात्रा निरन्तर रहोस् ।
बराललाई पुम्दीको डाँडाबाट विजयपुरको किनारमा ओराल्ने मोहनी फल हो ‘तरबुजा’ । मौसमको हिसाबले उष्ण भेगमा खेती हुने तरबुजालाई पोखरामा आजमाउन थालिएको करिब ४ वर्ष भयो ।
खोंच परेको र हपक्क गर्मी हुने अनि बलौटे भूमि तरबुजाको लागि उपयुक्त स्थान हो । यही मेसोमा पोखरा महानगरपालिकाले पनि कृषकलाई यथाशक्य सघाउने नीति लिएपछि बराल यतैपट्टिी लागेका हुन् ।
पृथ्वीनारायण क्याम्पसमा पत्रकारिताका विद्यार्थी बराल राजनीतिमा पनि उम्दा थिए । पोखराका सञ्चारकर्मीलाई यदाकदा विशेष सूचना उपलब्ध गराउने उनको मोह पत्रकारिता र राजनीतिमा समानान्तर थियो ।
तर, दलीय दम्भ र राजनीतिक पात्रहरुको अपारदर्शी जीवनशैलीबाट उनी अलग हुन चाहे । र, पाखुरा अनि पसिनाको बलमा तरबुजाबाट भविष्य खोज्न यता लागे ।
भाडामा जमिन लिएर कर्म गर्न सुरु गरेको यो दोस्रो वर्ष हो । पहिलो वर्ष २ रोपनी जमिनमा कर्म सुरु गरेका बरालको मिहिनेतले आश देखायो ।
त्यहाँबाट आर्जित मुनाफाले थप सम्भावना देखाएसँगै उनले जमिनको आकार पनि बढाए । यस वर्ष बरालले २५ रोपनी जमिनमा तरबुजा खेती गरिरहेका छन् ।
‘पोखरा महानगरमा सबैभन्दा बढी क्षेत्रफलमा तरबुजा खेती गर्ने कृषक मै हुँ’ बराल भन्छन् ‘अघिल्लो वर्षको मिहिनेत र मुनाफाले मलाई हौंस्यायो ।’ यस वर्ष धेरै क्षेत्रफलमा तरबुजा लगाउँदा उनले लगानी र मुनाफाबीच जोखिम अनुभव गर्न पाएको सुनाए ।
‘चैतदेखि निरन्तरको झरीले तरबुजामा धेरै क्षति भएको छ, यसबीच बजारमा लैजान पनि गाह्रो भयो, यद्यपि, फार्मबाटै बिक्री भइरहेको छ’ उनले बताए ।
बरालका अनुसार हाल ६० रुपैयाँ प्रतिकेजीका दरले करिब २ सय किलोको हाराहारीमा बिक्री भइरहेको छ । ‘खैर, बजारकै चिन्ता भने छैन, व्यापारीहरु यही आउँछन्’ उनले भने ‘तराइको भन्दा यहाँको हावापानीमा फलाइएको तरबुजा स्वदिला हुन्छन् ।’
यस सिजन उनले सरस्वती प्रजातिका ५ सय बिरुवा लगाएको बताउँदै भने १५ लाख रुपैयाँ हाराहारीको कारोबार गर्ने लक्ष्य छ ।
यसपटकको मेलामा तरबुजाको जुस पनि बेचिने र त्यो स्टाल आफ्नो मात्रै भएको उनले उल्लेख गरे । ‘सबैलाई चुल्हे निम्तो, मेलामा आउनुहोला है’ उनको अनुरोध छ ।
बराललगायतका कृषकलाई बजार खोजिदिन महानगरलेसमेत सघाएको छ । यसपटक यही मंगलबार पोखराको वडा १३ स्थित कार्यालय परिसरमा तरबुजा मेलाको आयोजना गरिँदैछ । जहाँ कृषकलाई सम्मानसमेत गरिने कार्यक्रम रहेको छ ।







