‘व्हीलचियरले मलाई सीमित होइन, सक्षम बनायो’ – जीवन

तनहुँको दुर्गम घिरिङ गाउँपालिकाको उकालो–ओरालो बाटो, सीमित पूर्वाधार र कठिन भौगोलिक अवस्थाबीच जीवन श्रेष्ठको बाल्यकाल बित्यो।

गाउँका अधिकांश बालबालिकाजस्तै उनका पनि सपना थिए—पढ्ने, घुम्ने, समाजमा केही गर्ने। तर शारीरिक अपाङ्गताका कारण उनका लागि सामान्य देखिने धेरै कामहरू पनि चुनौतीपूर्ण थिए।

घरबाहिर निस्कनदेखि विद्यालय पुग्नसम्मका यात्रामा कठिनाइ थियो। कतिपय बाटाहरू शरीरभन्दा मनलाई बढी थकाउने खालका थिए। समाजको दृष्टिकोणले पनि कहिलेकाहीँ उनलाई आफू अरूभन्दा फरक र सीमित भएको महसुस गराउँथ्यो।

तर समयसँगै उनको जीवनमा एउटा महत्वपूर्ण परिवर्तन आयो असिस्टिभ टेक्नोलोजी (एटी) विशेषगरी व्हीलचियर। एटीले शारीरिकरुपमा फरक क्षमता भएका व्यक्तिको विविध विकासमा सहयोग गर्छ । जसले हिँडडृुल गर्न नसकेर व्हीलचियरमा निर्भर उनको दैनिकी बदलिदिएको छ ।

जीवनका अनुसार व्हीलचियर केवल हिँडडुल गर्ने साधन मात्र बनेन, यसले उनलाई आत्मविश्वास, स्वतन्त्रता र जीवनलाई नयाँ ढंगले हेर्ने दृष्टिकोण दियो।

‘पहिले म आफूलाई सीमित ठान्थें। धेरै ठाउँ जान सक्दिनँ भन्ने लाग्थ्यो,’ उनी भन्छन्, ‘तर आज यही व्हीलचियरले मलाई घरभित्र सीमित राखेको छैन। यसले मलाई संसार हेर्न र आफ्ना सपनाहरू पछ्याउन सिकाएको छ।’

नेपालका ग्रामीण भेगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि दैनिक जीवन अझै पनि सहज छैन। सडक, यातायात, विद्यालय, सार्वजनिक भवनदेखि सामाजिक व्यवहारसम्म धेरै पक्ष अझै पहुँचयुक्त बन्न सकेका छैनन्।

घिरिङ गाउँपालिकाजस्तो दुर्गम क्षेत्रमा त चुनौती झन् ठूलो छ। कच्ची बाटो, भौगोलिक विकटता र सीमित सेवासुविधाका कारण अपाङ्गता भएका व्यक्तिहरू प्रायः घरभित्र सीमित हुन बाध्य हुन्छन्।

तर जीवनले आफ्नो अवस्थालाई कमजोरी बन्न दिएनन्। उनले उपलब्ध साधन र अवसरलाई उपयोग गर्दै आफूलाई अगाडि बढाए।

उनका लागि व्हीलचियर केवल शारीरिक सहयोग होइन, मानसिक बल पनि बन्यो। यसले उनीभित्र रहेको डर हटायो र आत्मनिर्भर बन्ने आत्मविश्वास जगायो।

‘म अरूमाथि निर्भर भएर मात्र बाँच्न चाहन्नथेँ,’ उनी भन्छन्, ‘म आफैं केही गर्न सक्छु भन्ने विश्वास यही ब्त् ले दिएको हो।’

हाल स्नातक तहमा अध्ययनरत जीवनको यात्रा केवल दैनिक जीवन सहज बनाउनेसम्म सीमित रहेन। उनले खेलकुदमा पनि आफ्नो क्षमता प्रमाणित गरे।

व्हीलचियर दौड प्रतियोगितामा सहभागी भएर उनले पुरस्कार जित्न सफल भए। उनको घाँटीमा झुन्डिएको पदक केवल खेलकुदको उपलब्धि मात्र होइन, त्यो संघर्ष, मेहनत र कहिल्यै हार नमान्ने साहसको प्रतीक बनेको छ।

प्रतियोगितामा भाग लिँदा उनले आफूजस्तै धेरै व्यक्तिहरू भेटे, जसले विभिन्न चुनौतीका बाबजुद जीवनमा अगाडि बढ्ने प्रयास गरिरहेका थिए। यसले उनलाई थप प्रेरित गर्‍यो।

‘पदक जित्दा मलाई आफ्नो मेहनत सफल भएको महसुस भयो,’ उनी सम्झिन्छन्, ‘त्यो दिन मैले महसुस गरेँ—अपाङ्गता सपना पूरा गर्न बाधक हैन ।’

आज जीवन केवल आफ्नै जीवन सहज रूपमा बाँचिरहेका छैनन्, उनी अरू अपाङ्गता भएका व्यक्तिहरूलाई पनि प्रेरणा दिने काम गरिरहेका छन्।

उनी समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई दया होइन, अवसर र सम्मान चाहिन्छ भन्ने सन्देश फैलाउन चाहन्छन्।

उनको विचारमा एटीको पहुँच विस्तार भए धेरै व्यक्तिहरूले आत्मनिर्भर जीवन बाँच्न सक्नेछन्।

‘सायद व्हीलचियर नभएको भए मेरा धेरै सपना सीमित हुन्थे,’ उनी भन्छन्, ‘तर आज यही व्हीलचियरले मलाई खुला आकाशमा उड्न सिकाएको छ।’

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र पहुँचका विषयमा पछिल्ला वर्षहरूमा बहस बढे पनि ग्रामीण क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ।

विशेषज्ञहरूका अनुसार एटीले अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, रोजगारी, सामाजिक सहभागिता र आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेल्छ। तर आर्थिक अवस्था, चेतनाको कमी र पहुँच अभावका कारण धेरै व्यक्तिहरू अझै आवश्यक उपकरणबाट वञ्चित छन्।

जीवन श्रेष्ठको कथा केवल व्यक्तिगत संघर्षको कथा होइन, यो समावेशी समाज निर्माणको आवश्यकता झल्काउने उदाहरण पनि हो।

उनको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ—सही अवसर, पहुँच र आत्मविश्वास भए अपाङ्गता कुनै व्यक्तिको सम्भावनाको सीमा बन्न सक्दैन।

Scroll to Top