नेपालमा मोबाइल फोन अहिले जीवनको अभिन्न हिस्सा बनिसकेको छ । गाउँका किसानदेखि सहरका व्यवसायीसम्म, विद्यार्थीदेखि बैंकिङ सेवासम्म, मोबाइलले नेपाली समाजको जीवनशैली नै परिवर्तन गरिदिएको छ । तर आज सहजै हातहातमा पुगेको यही मोबाइल कुनै समय नेपालमा दुर्लभ प्रविधि थियो । मोबाइल देख्नु नै ठूलो कुरा मानिने त्यो समयमा कसैले कल्पना पनि गरेको थिएन कि एकदिन नेपालभर मोबाइलको यति ठूलो बजार खडा हुनेछ ।
त्यही समयमा एउटा मानिसले भविष्य देखेका थिए । उनले मोबाइललाई केवल उपकरण होइन, भविष्यको सम्भावना माने । त्यो नाम हो–उदयबहादुर केसी । जसलाई अहिले धेरैले “मोबाइल म्यान” भनेर चिन्छन् । राजधानी बाहिर मोफसलबाट मोबाइल व्यापार सुरु गरेर नेपालमा मोबाइल व्यवसायको नयाँ अध्याय लेख्ने उनी आज केवल व्यवसायी होइनन्, एउटा इतिहास बनेका छन् ।
स्याङ्जाको बिरुवा–८ मा जन्मिएका उदयबहादुर केसी सामान्य ग्रामीण परिवेशमा हुर्किए । त्यसबेलाको नेपाली समाजमा “लाहुरे” बन्नु प्रतिष्ठा, अवसर र सफलताको प्रतीक मानिन्थ्यो । त्यसैले किशोर उमेरमै उनको सपना पनि लाहुरे बन्ने थियो । १७ वर्षको उमेरमा उनी भारतको गोरखपुर पुगे र भारतीय सेनाको गोर्खा राइफल्स फाइभ÷जी पल्टनमा भर्ती भए । त्यो समय उनको जीवन बन्दुक, बारुद, अनुशासन र कठिन प्रशिक्षणभित्र सीमित थियो । तर नियतिले उनको जीवनका लागि अर्कै बाटो तयार गरिरहेको थियो ।
सैनिक जीवनका क्रममा उनी विभिन्न ठाउँमा पुगे । त्यही क्रममा देहरादूनमा भएको एउटा घटनाले उनको जीवनको दिशा नै बदलिदियो । एक दिन उनी मोटरसाइकल मर्मत गर्न एउटा वर्कशप पुगे । त्यहाँ हातभरि ग्रीज लागेको एक मिस्त्रीले अचानक खल्तीबाट एउटा सानो उपकरण निकाल्यो र कसैसँग कुरा गर्न थाल्यो । उदयबहादुर छक्क परे । त्यो समय नेपालमा मोबाइल त परको कुरा, धेरैले टेलिफोनसमेत नजिकबाट देखेका थिएनन् । उनले उत्सुकतापूर्वक सोधे — “यो के हो?” मिस्त्रीले सहज उत्तर दियो–“मोबाइल फोन ।” सानो उपकरणबाट टाढा रहेका मानिससँग कुरा गर्न सकिने कुरा उनलाई जादूजस्तै लाग्यो । आजभन्दा करिब ३५ वर्षअघि देखिएको त्यो दृश्यले उनको मनमा एउटा सपना रोपिदियो । त्यही सपना पछि नेपालको मोबाइल व्यापारसँग जोडिनेछ भन्ने सायद उनलाई पनि थाहा थिएन ।
सैनिक जीवनपछि उनी नेपाल फर्किए । तर देहरादूनमा देखेको मोबाइलको दृश्य उनको मनबाट कहिल्यै हटेन । उनी बारम्बार सोच्थे–“एकदिन नेपालमा पनि मोबाइलको ठूलो बजार हुन्छ ।” त्यो समय नेपालमा मोबाइल प्रयोग नगन्य रुपमा थियो । न राम्रो नेटवर्क थियो, न ग्राहक । तर उदयबहादुरले अरूले नदेखेको भविष्य देखे । उनले दिल्लीबाट मोबाइल ल्याएर पोखरा र तराईका विभिन्न जिल्लामा बिक्री सुरु गरे । काठमाडौंभन्दा बाहिर मोबाइल बेच्नु त्यतिबेला निकै ठूलो जोखिम थियो । धेरै मानिसले मोबाइललाई अनावश्यक विलासिता ठान्थे । कतिपयले त उनलाई नै प्रश्न गर्थे–“नेपालमा कसले मोबाइल किन्छ?” तर उनले विश्वास छोडेनन् ।
मोबाइलप्रतिको आकर्षण विस्तारै बढ्न थाल्यो । उदयबहादुरको व्यापारले लय लिन थाल्यो । पोखराको महेन्द्रपुलमा रहेको ठुलो भवनलाई उनले पोखरा टावर प्रालिमा स्थापना गरे । बिस्तारै त्यो मोबाइल टावर व्यापारको केन्द्र बन्न थाल्यो । मोबाइल पसलहरू यति धेरै भए कि मानिसहरूले त्यो भवनलाई नै “मोबाइल टावर” भन्न थाले । आज पनि पोखरामा “मोबाइल टावर” भन्नेबित्तिकै धेरैको मनमा लाहुरे दाईकै नाम आउँछ । त्यसैगरी मनिषा मोनिका ट्रेडर्स मार्फत उनले आफ्नो व्यापारलाई अझ व्यवस्थित र ठूलो बनाए । सुरुमा दिल्लीबाट मोबाइल ल्याएर बेच्ने व्यक्ति आज अन्तर्राष्ट्रिय बजारसँग जोडिएको व्यवसायी बनेका छन् ।
उदयबहादुर केसी केवल सफल व्यवसायी मात्र होइनन्, प्रेरणाका स्रोत पनि हुन् । उनले व्यापारलाई व्यक्तिगत लाभमा सीमित राखेनन् । उनको उद्देश्य युवालाई स्वरोजगारतर्फ जोड्नु पनि थियो । उनकै प्रेरणाले करिब २ हजार युवा मोबाइल व्यवसायमा लागेको बताइन्छ । कतिपयले सानो पसलबाट सुरु गरेर आज आफ्नै व्यवसायिक पहिचान बनाइसकेका छन् । सायद त्यसैले धेरै युवाले उनलाई “व्यवसायी” भन्दा बढी “मार्गदर्शक”को रूपमा हेर्छन् ।
मोबाइल व्यवसायलाई व्यवस्थित गर्न उनले संस्थागत रूपमा पनि महत्वपूर्ण भूमिका खेले । वि.सं. २०५७ सालमै उनले मोबाइल व्यवसायीहरूको संगठन स्थापना गर्न पहल गरे । त्यो समय नेपालमा मोबाइल व्यवसाय भर्खर सुरु हुँदै थियो । आज उनी भर्खरै सम्पन्न नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अत्याधिक बहुमतले विजयी भएका छन् । यसअघि इलेक्ट्रिक व्यवसायी संघ कास्कीको नेतृत्व पनि सम्हालिसकेका छन् । त्यसैगरी भारतीय भूपू सैनिक संघ र घरभाडा सरोकार समितिमा पनि उनको सक्रिय भूमिका छ ।
मोबाइल बजार अहिले विशाल बनिसकेको छ । देशभर हजारौं मोबाइल व्यवसायी छन् । तर लाहुरे दाईका अनुसार अहिलेको व्यापार पहिलेभन्दा धेरै चुनौतीपूर्ण छ । पहिले मोबाइल महँगो भए पनि नाफा राम्रो थियो । अहिले मोबाइल सस्तो र सुविधासम्पन्न भए पनि नाफा घटेको छ । उनी अवैध कारोबारप्रति पनि चिन्तित छन् । भ्याटबिनाका मोबाइल, अनधिकृत आयात र अनलक मोबाइलले व्यवसायीलाई समस्यामा पारेको उनी बताउँछन् । त्यसैले बजारलाई व्यवस्थित गर्न सरकारले कडा नीति ल्याउनुपर्ने उनको माग छ ।
उदयबहादुर केसी अझै एउटा ठूलो सपना बोकेर हिँडिरहेका छन्–नेपालमै मोबाइल उत्पादन होस् । उनको विश्वास छ, यदि नेपालमै मोबाइल एसेम्बल र निर्माण हुन सक्यो भने त्यसले नेपाली अर्थतन्त्रलाई नयाँ दिशा दिनेछ । रोजगारी सिर्जना हुनेछ, राजस्व बढ्नेछ र युवा विदेशिनु कम हुनेछ । त्यसैले उनी नेपालमै मोबाइल उत्पादन उद्योग स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइरहेका छन् ।
उदयबहादुर केसीको कथा केवल एउटा व्यवसायीको सफलता होइन । यो समयभन्दा अगाडि सोच्ने मानिसको कथा हो । देहरादूनको एउटा वर्कशपमा देखिएको सानो मोबाइलले उनको जीवन मात्र होइन, नेपालको मोबाइल व्यापारको इतिहासको दिशा नै बदलिदियो ।
आज मोबाइल बजार विशाल राजमार्ग बनिसकेको छ, तर त्यो राजमार्गको पहिलो गोरेटो खन्नेमध्ये एक व्यक्ति भने निस्सन्देह–लाहुरे दाई उदयबहादुर केसी नै हुन् ।







