पर्यटकीय राजधानी पोखराका व्यवसायी २४ सैं घण्टा व्यवसाय खुल्दा विविध समस्या सृजना भएको भन्दै आज सिडिओसँग रातको २ बजेसम्म मात्रै खुल्ला गरिदिन अनुरोध गर्न पुगेका छन् ।
रात्रिकालीन व्यवसायमा विकृति र बेथिति बढेको भन्दै पर्यटन व्यवसायीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । होटल संघ पोखरासहितका पर्यटन सम्बद्ध संघसंस्थाहरुले ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनमा तीव्रता दिन माग गरे ।
उनीहरुले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै शान्ति सुरक्षामा दखल पुगेको बताए ।
पोखरालाई २०८० चैत ४ गते पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड र ड्यामसाइड क्षेत्रमा २४ सै घन्टा व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो । यसका लागि प्रशासनको अगुवाइमा ४२ बुँदे आचारसंहिता तयार पारिएको थियो । तर उक्त आचारसंहिता अक्षरशः कार्यान्वयन नहुँदा हो–हल्ला, ध्वनि प्रदूषण र विकृति बढेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
उनले आचारसंहिता पालना नगर्ने व्यवसाय राति ११ बजे नै बन्द गर्नुपर्ने माग गरे । साथै राति २ बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसायलाई पूर्ण रुपमा रोक लगाउन समेत उनले आग्रह गरे । व्यवसायीले बुझाएको पत्रमा पोखराका करिब २ दर्जन पर्यटकीय संघसंस्थाले हस्ताक्षर गरेका छन् ।
व्यवसायीले बुझाएको पत्रमा राति अबेरसम्म मदिरा बिक्री हुने, सडकमा हो–हल्ला हुने र ठूलो आवाजमा मोटरसाइकल कुदाउने कार्यले शान्ति सुरक्षामा खलल पुगेको उल्लेख छ ।
पर्याप्त सिसी टिभी क्यामेरा नहुँदा र भएकाको पनि मर्मत नहुँदा दोषी पक्रन समस्या भएको उनीहरुको गुनासो छ । यसले गर्दा पर्यटकीय क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको र लागूऔषध प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको पत्रमा उल्लेख गरिएको छ । ‘जथाभावी हो–हल्ला र ध्वनि प्रदूषणले पर्यटक तथा स्थानीय बासिन्दा त्रसित हुने अवस्था छ,’ पत्रमा भनिएको छ ।
यसैगरी बाहिरबाट पोखरा आउने पर्यटकलाई विभिन्न चोकबाटै पछ्याउने कार्यप्रति पनि व्यवसायीले आपत्ति जनाएका छन् । छोरेपाटन, विरौटा, सिर्जना चोक, जिरो किलोमिटर, जरेवर, हल्लनचोक र राष्ट्र बैंक चोकमा होटलका कर्मचारी वा सञ्चालकले पर्यटकलाई बाइक र स्कुटरबाट पछ्याउने गरेको पाइएको छ ।







