‘प्रधानमन्त्रीलाई बधाई दिउँ कि दुःख व्यक्त गरुँ ?’ नेता आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले ‘सदनमा राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेर विश्व रेकर्ड कायम गरेको भन्दै बधाई दिउँ कि दुःख व्यक्त गरुँ ?’ भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेले प्रधानमन्त्री प्रधानमन्त्रीले संसदीय मर्यादाको गम्भीर उल्लंघन गरेको आरोप लगाएका हुन् ।

नेता आङ्देम्बेले वर्तमान सरकारले लोकतान्त्रिक मूल्यमा बारम्बार चोट पुर्याएको दाबी गरे । ‘बोलाइसकेको सदन रोकेर अध्यादेशको बाटो रोज्दा संसद्प्रति सरकारको निष्ठामाथि नै शङ्का उत्पन्न भएको छ’, उनले भने– ‘हामीले सरकारलाई रचनात्मक रूपमा सहयोग गर्छौं भनेकै छौँ। तर सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था आयो।’

नेता आङ्देम्बेले तत्कालीन गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न सरकार किन हिच्किचाएको भनेर पनि प्रश्न गरे ।

‘अरूलाई भ्रष्टाचारको एकोहोरो आरोपबाट अल्गोरिदमिक खेदाइ गर्ने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपहरूको कुनै छानबिन नगर्ने कस्तो सुशासन हो ?, तत्कालीन गृहमन्त्री माथिको आरोपहरूको निष्पक्ष छानबिन किन हच्किएको म सभामुखज्यूमार्फत सोध्न चाहन्छु,’ उनले प्रश्न गरे।

Scroll to Top