पोखरा वडा १० मा रहेका विभिन्न आयुर्वेद औषधि पसल र क्लिनिकहरूमा अनुगमन गरिएको छ ।
कास्की सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा गएको टोलीले म्याद नाघेका र दर्ता नभएका औषधीहरू बरामद गरी नष्ट गरेको हो । अनुगमनका क्रममा ४ वटा स्वास्थ्य संस्थाबाट ५९ हजार ५ सय १५ रुपैयाँ बराबरको औषधी नष्ट गरिएको छ ।
टोलीले नेचर केयर होम प्रालिबाट सबैभन्दा बढी २६ हजार ३ सय ९० रुपैयाँ बराबरको म्याद नाघेका र औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी नष्ट गरेको छ ।
यस्तै पोखरा हेल्दी होम्सबाट १९ हजार ९१ रुपैयाँ र साधना आयुर्वेद क्लिनिकबाट ८ हजार ८४ रुपैयाँ बराबरको म्याद नाघेको औषधी नष्ट गरियो । फेमिली आयुर्वेद फार्मेसीबाट ५ हजार ९ सय ५० रुपैयाँ बराबरको औषधी नष्ट गरिएको टोलीले जनाएको छ ।
अनुगमनका क्रममा पञ्चम आयुर्वेदिक फर्मा, रश्मि आयुर्वेद क्लिनिक प्रालि र आरोग्य होम प्रालीको समेत निरीक्षण गरिएको थियो । टोलीमा गण्डकी आयुर्वेद औषधालय, पोखरा महानगरपालिका, सुरक्षा निकाय, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधिहरूको सहभागिता थियो । टोलीले स्वास्थ्य संस्थाका कागजात, जनशक्ति र औषधीको भण्डारण अवस्थाबारे जानकारी लिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कानुनविपरीत व्यवसाय सञ्चालन नगर्न व्यवसायीहरूलाई सचेत गराएका छन् । उनले डिडिएमा दर्ता नभएका औषधी बिक्री नगर्न र म्याद नाघेका औषधीका लागि छुट्टै भण्डारको व्यवस्था मिलाउन निर्देशन दिए ।
बरालले भने, ‘न्यूनतम जनशक्तिको व्यवस्था गरेर मात्र फार्मेसी वा क्लिनिक चलाउनुहोला, समयमै दर्ता र नवीकरण नगर्नेलाई कारबाही हुन्छ ।’
उनले क्लिनिकहरूमा राखिएका अनावश्यक र भ्रमपूर्ण पोस्टर तथा बोर्डहरू तुरुन्त हटाउन समेत निर्देशन दिएका छन् ।







