आजभन्दा करिब ४० वर्षअघि नेपालको पर्यटन र पदयात्रा कस्तो थियो होला ? अहिलेको जस्तो हातहातमा जीपीएस, सुविधासम्पन्न होटल र सुगम सडक थिएनन्। सन् १९८५ मा अमेरिकी पदयात्री एडवार्ड वाल्टर टोल्फसनले अन्नपूर्ण क्षेत्रमा भोगेको एउटा अविश्वसनीय घटनाले तत्कालीन समयको प्रशासनिक जटिलता र हिमाली जनजीवनको एउटा जीवन्त तस्विर उतार्छ।
वाल्टरले अन्नपूर्ण सर्किट जानका लागि अनुमति पत्र (परमिट) मागेका थिए, तर काठमाडौँको कर्मचारीले झुक्किएर ‘अन्नपूर्ण बेस क्याम्प’को अनुमति पत्र बनाइदियो। पदयात्राको केही दिनपछि मनाङको धारापानी चेकपोस्टमा पुग्दा उनलाई रोकियो। अनुमति पत्र गलत भएको भन्दै उनलाई अघि बढ्न दिइएन र नियन्त्रणमा लिइयो।
पक्राउ परेपछि वाल्टरको ब्याकप्याकबाट सबै सामान निकालियो। त्यहाँका मुख्य प्रहरीको आँखा पदयात्रीसँग रहेको ‘सर्टवेभ पकेट रेडियो’मा पर्यो। प्रहरीले संकेतमा रेडियो दिएमा छोडिदिने आस देखाए, तर ती पदयात्रीले आफ्नो प्रिय रेडियो दिन अस्वीकार गरे। नतिजास्वरूप, उनलाई एउटा सानो जेलको कोठामा थुनियो।
मध्यरातमा जब सुरक्षाकर्मीहरू निदाइसकेका थिए, वाल्टरले एउटा साहसिक निर्णय लिए। उनी सुटुक्क जेलको कोठाबाट निस्किए, प्रहरी प्रमुखको कार्यकक्षमा छिरेर टेबलमा राखिएको आफ्नो रेडियो उठाए र झोला बोकेर रातको अँध्यारोमै त्यहाँबाट भागे। ताराहरूको मधुरो उज्यालोमा उनी उज्यालो नहुन्जेलसम्म निरन्तर हिँडिरहे।
चेकपोस्टहरू छल्नका लागि उनले मुख्य बाटो छोडेर भित्री र अप्ठ्यारा गोरेटोहरू रोजे। उनी त्यस्ता गाउँहरू पुगे जहाँका मानिसहरूले यसअघि कहिल्यै विदेशी देखेका थिएनन्। अन्ततः थोराङ-ला पास पार गरेरै छाडे। यो केवल एउटा पदयात्रा थिएन, यो साहस, दृढता र स्वतन्त्रताको एउटा अनौठो लडाइँ थियो। र, नेपाली कर्मचारीको लापरवाहीले एउटा प्रकृतिप्रेमीले पाएको दुखको आत्मकथा पनि ।
यो लेख उनै वाल्टरबाट लिएर अनुवाद गरिएको हो







