नर्सिङ दिवसः बिरामी, अस्पताल प्रशासन र राज्यकै ‘आँखाको तारो’ बनेका नर्स

दिपक के श्रेष्ठ

एक हप्ताअघि विराटनगरको नोबल मेडिकल कलेजमा बिरामीका आफन्तद्वारा नर्समाथि भएको गालीगलौज र ज्यानै लिने धम्कीदेखि अस्पताल प्रशासनले गर्ने श्रम शोषण अनि राज्यले गरेको असमान व्यवहारले आज नर्सिङ दिवस मनाइरहेका नर्सहरुको मुहारमा रौनक देखिदैन । नर्सिङ पेसालाई सेवाको पर्याय मानिन्छ । अस्पताल छिर्नेबित्तिकै बिरामीले पहिलो आड र भरोसा नर्समै खोज्छन् । तर विडम्बना, त्यही भरोसाको केन्द्र मानिने नर्सहरू आज समाज, अस्पताल प्रशासन र राज्यकै ‘आँखाको तारो’ बनिरहेका छन् ।

समाजमा एउटा भाष्य निर्माण गरिएको छ– ‘नर्सहरू छुच्ची र घमन्डी हुन्छन् ।’ तर, यसको पछाडिको कारण कसैले बुझ्न खोज्दैन । एउटै नर्सले ३० देखि ४० जना बिरामीलाई एकैसाथ हेर्नुपर्ने, १८ घण्टासम्मको निरन्तर ड्युटी गर्नुपर्ने र घरपरिवार छोडेर चाडबाडमा पनि बिरामीकै सेवामा खटिनुपर्ने दबाबले उनीहरूमा ‘बर्न आउट’को समस्या निम्त्याउँछ । मानसिक र शारीरिक थकानले चुर भएको व्यक्तिबाट सधैँ मुस्कुराएर सेवा पाउने अपेक्षा गर्ने समाजले, ती नर्सले कुन अवस्थामा काम गरिरहेकी छिन् भनेर कहिल्यै सोच्दैन ।

अस्पतालको व्यवस्थापकीय कमजोरीको सजाय नर्सले भोग्नुपर्ने अवस्था दुःखद छ । डाक्टर राउण्डमा नआउनु, औषधि पसलमा औषधि नहुनु वा अस्पतालको भौतिक पूर्वाधार कमजोर हुनुमा नर्सको कुनै भूमिका हुँदैन । तर, बिरामी र आफन्तको प्रत्यक्ष सम्पर्कमा नर्स हुने भएकाले सबै आक्रोश उनीहरूमाथि नै पोखिन्छ । यो केवल व्यक्तिगत दुर्व्यवहार मात्र होइन, एउटा मर्यादित पेसामाथिको प्रहार हो ।

नर्सहरूले आज आफूलाई अभिभावकविहीन महसुस गरिरहेका छन् । अस्पताल प्रशासनले उनीहरूलाई केवल ‘कामदार’को रूपमा मात्र हेर्छ भने नर्सिङ संघ-संगठनहरू आफ्नै सत्ता र राजनीतिक खिचातानीमा व्यस्त छन् । जब कार्यस्थलमा नर्समाथि हातपात हुन्छ वा उनीहरूले न्यूनतम पारिश्रमिक पाउँदैनन्, तब यी संगठनहरूको मौनताले नर्सिङ पेसाको भविष्य थप अन्धकारतर्फ धकेलिरहेको छ ।

फ्लोरेन्स नाइटिंगेलको फोटोमा माल्यार्पण गरेर र दिप प्रज्वलन गरेर मात्र नर्सिङ दिवसको सार्थकता झल्किँदैन । नर्सहरूलाई ‘आँखाको तारो’ होइन, ‘आँखाको नानी’ बनाउनका लागि उनीहरूको कार्यबोझ घटाउनु पर्छ, पारिश्रमिक सम्मानजनक बनाउनु पर्छ र कार्यस्थलमा पूर्ण सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ ।

नर्स सुरक्षित भए मात्र बिरामी सुरक्षित हुन्छन् भन्ने सत्यलाई बिरामीका आफन्त र अस्पताल प्रशासन दुवैले बुझ्न जरुरी छ ।नर्सहरूको त्यागलाई केवल ड्युटीमात्र नभई ‘मानवताको सेवा’को रूपमा सम्मान गरौँ ।

सबै नर्सहरूलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको शुभकामना !


Scroll to Top